मनोरंजनमुख्य समाचार

‘घामड शेरे’: दर्शक निराश नबनाउने औसत सिनेमा

Sharing is caring!

अशेष अधिकारी/कात्तिक २४, काठमाडौँ । केही वर्ष विदेश बसेर देशमा व्यवसायिक तरकारी खेती गर्ने उद्देश्य बोकेर नेपाल फर्किएको शेरबहादुरलाई माटो भरेर बनाइएको खोलाछेउको जग्गा भिडाइन्छ।

यसरी भिडाएको जग्गा बाढीले बगाएपछि आफूमाथि भएको अन्यायका लागि ऊ खोलालाई मुद्दा हाल्न बाध्य हुन्छ। खोलालाई मुद्दा हालेपछि उसले मुद्दा जित्छ या हार्छ? यसैको सेरोफेरोमा बुनिएको तानाबाना नै ‘घामड शेरे’को कथा हो।

सिनेमालाई हेमराज बिसीले निर्देशन गरेका हुन्। निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक पूरा सिनेमा एकसाथ काम गरेका छन्।

खोलाविरूद्ध मुद्दाको विषयले ‘घामड शेरे’ प्रति एउटा स्वभाविक आकर्षण उत्पन्न गराउँछ। यस्तो विषयले आकर्षण गराए पनि पर्दामा भने यो एउटा मध्यमस्तरको सिनेमा भएको छ।

निर्देशक बिसी सिनेमाको कथा भन्ने शैलीले सिनेमा माध्यम बनेको हो।

निर्देशकले खोलामाथि मुद्दाको साथमा मुख्यपात्रको पारिवारिक उपकथालाई राखेर दर्शकको मानवीय संवेदना थप आकर्षित गर्न खोजेका छन् सिनेमामा। तर उनी मूल कथा र यो उपकथाको तालमेललाई आकर्षक शैली दिन हुनुपर्ने जति सफल नहुनु पनि सिनेमा मध्यम स्तरको हुनुको एउटा कारण हो।

योसँगै केही कलाकारको सपाट अभिनयले पनि सिनेमालाई मध्यम स्तरबाट माथि उठ्न रोकेको छ।

सिनेमाको शीर्ष भूमिकामा देखिएका निश्चलको अभिनयले आफ्नो पात्रलाई स्वभाविक उभ्याउन सकेका छैनन्। सिनेमामा धेरै ठाउँमा उनी पात्रको मनोविज्ञान आफ्नो अभिनय शारिरीक हाउभाउ र संवाद शैलीबाट भन्न चुकेका छन्। अभिनयमा उनले थप मेहेनत गर्नुपर्छ।

सिनेमा हेरिरहँदा अर्को कुनै कलाकारले यसलाई अझ राम्रो गर्न सक्थ्यो कि भन्ने परिरहन्छ।

यो समस्या निश्चलसँगै लोकेन्द्र लेखक, रोय र बादल भट्टको अभिनयमा देखिन्छ। उनीहरू आफ्नो चरित्रलाई चरित्र अनुसार व्यक्तिव प्रधान गर्न असमर्थ छन्। गौरी मल्लको अभिनयमा पनि त्यही भान हुन्छ। रोयले अभिनयमा निक्कै नै सुधार गर्नुपर्छ।

यी पात्रका अभिनयलाई थोरैमात्र पनि सुधार गरेको भए सिनेमा औसतबाट निक्कै माथि पुग्थ्यो। यी पात्रहरूलाई प्राप्त स्क्रिन टाइमको सही सदुपयोग गराउन निर्देशक चुकेका छन्।

उनीहरूका अलावा आफ्नो पात्रमा स्वस्तिमा खड्का(गौरी)ले स्वभाविक अभिनय गरेकी छिन्। सिनेमाभरी उनी गौरी नै लाग्छिन्। सिनेमामा निश्चलको पत्नीको भूमिकामा देखिएकी सुष्मा निरौलाले अब्बल अभिनय गरेकी छन्। उनी आफ्नो भूमिकामा टपक्कै बसेकी छन्। सिनेमा सकिएपछि पनि उनी दर्शकको मनमा बस्न सफल भएकी छन्।

यस्तै सरोज अर्यालले पनि आफ्नो भूमिकालाई न्याय गरेका छन्।

सिनेमाको अर्को राम्रो पक्ष कथा हो। बिसीले सकभर यथार्थको नजिक रहेर सिनेमाको कथा उन्ने प्रयास गरे पनि व्यवसायिकतालाई पनि ध्यान दिँदा कथा पटकथा बन्दा कमजोर भएको छ। सिनेमाको पटकथालाई थप रोचक बनाउने प्रशस्त ठाउँ थियो।

२ घन्टा १५ मिनेट लामो सिनेमालाई केही छरितो बनाउन सकिन्थ्यो।

सिनेमामा कालीप्रसाद बाँस्कोटाको ‘सादा सादा’ बोलको गीत प्रासंगिक छ। यसैगरी ब्याकग्राउन्ड संगीत सुहाउँदो छ भने नरेन्द्र मैनालीको छायाँकन अब्बल छ।

समग्रमा राम्रो कथा हुँदाहुँदै पनि पटकथा र केही कलाकारको सपाट अभिनयले सिनेमा औसत बनेको छ।

एकपटक हेर्दा सिनेमाले दर्शकलाई खासै निराश भने बनाउँदैन। दर्शकको पैसा खेर जाँदैन। सेतोपाटीबाट साभार

Related Articles

Back to top button
Close