मुख्य समाचारसमाचार

निजामतीमा विज्ञता उपयोग कसरी ?

Sharing is caring!

गोपीनाथ मैनाली । नेपालको निजामती सेवामा देशविदेशमा पढेलेखेका प्रतिभा बढ्दै गए पनि सार्वजनिक सेवा प्रवाहमा त्यसको पुष्टि हुन सकेको छैन। कर्मचारीमा विस्तारै अतिवृत्तिवादी प्रवृत्ति देखिन थालेको छ। सेवा प्रवेशपछि प्रमोसन, परीक्षा र वृत्ति विकासका

पक्षहरूमा बढी नै ध्यान दिने प्रवृत्तिले नागरिक सेवा वितरणमा प्रतिकूल प्रभाव परी निजामती सेवाको छवि गिर्दै गएको छ। एकातर्फ सरकारले लगानी गरी तयार गरेको जनशक्ति उपयोग गरी सेवा प्रवाह र सरकारी नीति कार्यान्वयन गर्न नसक्नु र अर्कोतर्फ छिटोछिटो वृत्ति खुट्किला चढ्नेहरूमा पनि माथिल्लोे पदमा पुगेपछि छिटै अवकाश हुने चिन्ताका कारण कर्मचारीमा स्वयम् उत्साह जगाउन नसक्नुको दोहोरो मारमा निजामती सेवा पुगेको छ। तेस्रो मार पनि छ, त्यो हो- आस्था र आग्रहले अनुशासनहीनता पनि हुर्किएको छ।

निजामती सेवाभित्र ज्ञान र विज्ञता भएका प्रतिभा बढ्दै गए पनि त्यसलाई सीपमा परिणत गरी कार्यरूपमा उतार्न नसकिएकाले समग्र प्रणाली नै अकर्मण्य बन्दै जाँदा समग्र राज्य सञ्चालन कुँजो बन्न सक्छ र यसले शासन प्रणाली र विकास व्यवस्थापनलाई सीधै चुनौती दिन्छ। भनिन्छ- निजामती सेवाले अनुमति दिएभन्दा उत्तम राज्य प्रणाली हुनै सक्दैन।

निजामती सेवा आफैंमा राष्ट्रसेवाको अवसर पनि पाउने र वृत्ति अवसर पनि पाउने दोहोरो फइदाको वृत्ति प्रणाली हो। यसभित्रको प्रवेशले सामाजिक प्रतिष्ठा र सुरक्षाको सुनिश्चितता पनि दिन्छ। मुलुुकका विभिन्न भूगोल र संस्कृतिसँग घुलमिल हुने, सामाजिक सम्बन्ध कायम हुने र कार्यपरिवेशबाट माझिँदै जाने अवसरका कारण निजामती सेवा जिम्मेवारीभन्दा पनि अवसर पनि हो। तर यसलाई अवसरका रूपमा मात्र लिँदा सेवाका आदर्श, निष्ठा र नैतिकताजस्ता पक्ष ओझेलमा पर्ने गरेका छन्। कर्मचारी सधैं कर्मको आचरण गर्छ। कामबाहेक उसको नाम वा पहिचान केही छैन भन्ने आदर्श स्थापित छ। तर यदि उसले सामाजिक अपेक्षाअनुसार कार्यसम्पादन गरेन भने कर्मचारी नामजस्तो कर्मको आचरण गर्ने वर्ग बन्दैन, जुन अहिले देखिएको छ।

कर्मचारीमा अहिले किन अतिवृत्तिवादी प्रवृत्ति हुर्कियो वा किन पेसागत अनुशासनमा रहेनन् भन्ने सन्दर्भमा हामीले छानेको निजामती सेवा कस्तो हो भन्ने पृष्ठभूमिको सापेक्षमा रहेर विश्लेषण गर्नुपर्ने हुन्छ। नेपालले अवलम्बन गरेको निजामती सेवा नर्थकोट ट्रेभेलियन प्रतिवेदनपछि संस्थागत हुँदै आएको निजामती सेवा हो, जसका दुई प्रमुख विशेषता छन्, पहिलो- योग्यता प्रणाली। यसले सेवा प्रवेश र त्यसपछिका वृत्ति गतिशीलतालाई उसको क्षमतासँग आबद्ध गर्छ। (ख) दोस्रो- राजनीतिक रूपमा मूल्यतटस्थ निजामती सेवा, जसले जुन राजनीतिक विचारधारा बोक्ने दल शक्तिमा पुगे पनि जनतामा पुग्ने सेवा विनाभेदभाव सुनिश्चित गर्छ। साथै पेसागत विशिष्टताका आधारमा राजनीतिक समाजसँग सम्बन्ध कायम गर्छ। राजनीतिक कार्यकारी सूचना, परामर्श र आवश्यक पर्दा व्यावसायिक चेतावनी पनि दिने गर्छ।

नेपालको निजामती सेवासम्बन्धी कानुनका प्रावधानले कार्यसम्पादनमुखी र योग्य कर्मचारीको कल्पना गरेको छ, जसले स्तरीय र जनमुखी सेवा दिन सकोस्। पेसागत आचरणका सन्दर्भमा करारीय दायित्व र सामाजिक दायित्व निर्वाहको अपेक्षा गरेको देखिन्छ। तर भर्ना छनोट क्षमता र सीपभन्दा सूचना र ज्ञानमुखी छ। यसले गरेको भन्दा गरेजस्तो देखाउने कर्मचारी नै राम्रा भन्ने प्रमाणित गर्दै आएको छ। वैयक्तिक प्राज्ञलाई महत्व दिने प्रणालीका कारण कार्यसम्पादन क्षमता विस्तारै पातलिँदै गएको र सीमित रूपमा आर्जित क्षमता पनि संस्थाले आफ्नो बनाउन सक्ने गरी कार्यविनियोजन र प्रोत्साहन पद्धति अवलम्बन गर्न सकेन।

निजामती सेवाको पद हरेक दिन, महिना र पदमा परीक्षित हँुदै वृत्ति चढ्ने पद हो, त्यसको आधार कार्यसम्पादन क्षमता मात्र हो। यसर्थ प्रणाली निर्माण सहज होइन, तर असम्भव पनि छैन।

निजामती सेवामा भर्ना तथा वृत्ति व्यवस्थित गर्ने दुई पद्धति (क) ज्येष्ठतामूलक र (ख) प्रतिस्पर्धामूलकमध्ये नेपालले दुवै पद्धतिको आदर्श मि श्रण गरेको छ। यसको आशय कार्यसम्पादन क्षमता उम्दा भएका र अनुभवले खारिएका वरिष्ठहरू पनि वृत्ति तह चढून् र प्रतिस्पर्धात्मक क्षमता भएका मेघावी प्रतिभा पनि प्रशासनिक नेतृत्वमा पुगून् भन्ने हो। अनुभव र प्रतिस्पर्धात्मक क्षमताका समागमले सधैं राम्रो नतिजा दिन्छ भन्ने सोच नीतिनिर्माताले राखेको देखिन्छ। यसले प्रणालीभित्र अनुभव र प्रतिभाको समवेशीकरण र सिर्जनात्मक तनाव पैदा गर्ने उद्देश्य राखेको देखिन्छ। यसर्थ निजामती सेवामा यी मूल्य स्थापना गर्दा निजामती सेवा वास्तवमै उम्दा, इमानदार, व्यावसायिक, नतिजामुखी र जनमुखी हुन्छ भन्ने निष्कर्ष हो। साथै संगठनलाई सहभागितात्मक मान्यताअनुरूप लैजान युनियनले सहयोग गर्छ भन्ने मान्यता पनि राखिएको हो।

उद्देश्य र प्रावधान जेजस्ता भए पनि अभ्यास र उपलब्धिका आधारमा नै प्रणालीको मूल्यांकन हुने हो। निजामती प्रणाली कति योग्यतामूलक र मूल्यमा आधारित छ भन्ने कुरा कार्यसम्पादन उपलब्धि र उसप्रतिको सर्वसाधारणको सम्बन्धमा देखिने हो। अहिलेको अवस्था हेर्दा निजामती सेवाले न राज्यइच्छालाई संस्थागत गर्ने क्षमता र निष्ठा देखाउन सक्यो न सेवाग्राही नागरिकलाई सन्तुष्टि दिन सक्यो। न राजनीतिक कार्यकारीको विश्वास जित्न सक्यो, न राज्यसंरचना बाहिरका पात्रसँग सहकार्य गर्ने क्षमता देखाउन सक्यो। न खुला प्रतिस्पर्धाबाट आएका व्यक्तिहरूले प्रणालीभित्र सिर्जनात्मक तनाव ल्याउने सामथ्र्य नै देखाउन सके। केवल पदलाई अवसरका रूपमा लिई वृत्ति शृंखलामा निरन्तर अघि बढ्ने र वृत्तिसोच मौलाउँदै गएको देखियो। यसलाई एक प्रकारको विकृति नै भने पनि हुन्छ।

प्रश्न उठ्न सक्छ- के अतिवृत्तिवादी प्रवृत्ति हानिकारक हो ? के गरेर यो प्रवृत्ति सुधार गर्न सकिन्छ ? निजामती सेवा क्षमता, इमानदारी, निष्ठा र नैतिकताका आधारमा क्रियाशील हुने प्रणाली हो। क्षमता मात्र भएर निष्ठा र नैतिकता भएन भने यसको अर्थ रहँदैन भने क्षमताविहीन निष्ठा र नैतिकताले पनि प्रणाली निर्माण गर्न सक्दैन। कर्मचारीको क्षमताविहीनता वा कुण्ठाले सेवाग्राहीको अपेक्षा पूरा नहुनु प्रणालीगत अपराध नै हो। साथै वैयक्तिक प्रतिभा बढ्ने (बढुवा हुने) तर कार्य सम्पादन उपलब्धिचाहिँ दिन नसक्ने अवस्था पनि नागरिकप्रतिको अन्याय हो। यस अवस्थामा निजामती कर्मचारीको वृत्ति प्रणालीमा आमूल परिवर्तन आवश्यक छ। अन्यथा कार्यमूलक, मूल्यमा आधारित, व्यावसायिक र जनमुखी निजामती सेवा निर्माण गर्न सकिँदैन।

देखिएको प्रवृत्तिलाई सुधार गर्न केही महत्वपूर्ण कार्य निरन्तर गरिनु आवश्यक छ, ताकि यसले स्वचालित मार्गप्रशस्त गर्न सकोस्। पहिलो, निजामती सेवाको परीक्षण विधि नै सुधार गर्न आवश्यक छ। अहिले लोकसेवा आयोगले निष्पक्ष परीक्षा प्रणाली अवलम्बन गरे पनि व्यक्तिको ज्ञानको मात्र परीक्षण भएको छ, सीप र स्वभावको परीक्षण हुन सकेको छैन। कार्यविधिगत निष्पक्षता आवश्यक छ, सबैथोक होइन। लिखित परीक्षा, त्यहाँभित्रको ब्लाइन्ड सिस्टम र परीक्षण विधिले अमूक पदका लागि चाहिने क्षमता र स्वभाव आकलन गर्दैन। यसर्थ पहिलो कुरा पाठ्यक्रमलाई सीपमा आधारित बनाउने र दोस्रो कुरा दोस्रो चरणमा स्वभाव र क्षमताको स्तर परीक्षण गर्ने र तेस्रो चरणमा कार्यजिम्मेवारी पाएको निश्चित अवधिपछि वैधता परीक्षण गर्ने चरणबद्ध विधि अवलम्बन गर्न सकिन्छ। व्यवस्थापनका उच्च तहमा छनोट गर्नुअघि नेतृत्व क्षमता र परिस्थितिबोध क्षमता पनि त्यत्तिकै आवश्यक छ। अहिले पहिलो चरणको परीक्षण मात्र भएकाले पढेरै माथि पुगिन्छ भन्ने मनोवृत्ति हावी भएको हो।

उम्मेदवार सेवामा प्रवेश गर्नेबित्तिकै खटिएको कार्यालयसँग समाजीकरण र कामको अभिमुखीकरण गरिनु जरुरी छ। अहिले समाजीकरण त गरिँदैन नै, स्टाफ कलेजले गर्ने सेवा प्रवेश तालिमले कार्य अभिुमुखीकरणभन्दा अनुशासनहीनता र काम नगर्दा पनि हुन्छ भन्ने सन्देश गएको छ। सेवा प्रवेश तालिमले व्यक्तिलाई सेवा अभिमुखीकरणबाट अलग्याएको छ। कोर्स मोडुल, प्रशिक्षण विधि र प्रविधि परिवर्तन गर्न आवश्यक छ। ताकि काम नै कार्यप्रेरणा हो भन्ने आन्तरिक भावना जगाउन सकियोस्।

व्यक्तिलाई पदस्थापन गरी कार्यजिम्मेवारी दिएपछि उसलाई खास कामको नतिजाप्रति जिम्मेवार बनाउने गरी कार्यविवरण दिनुपर्छ र संगठनभित्र दरिलो कार्यसम्पादन प्रणाली लागू गरिनुपर्छ। साथै प्रत्येक आर्थिक वर्षमा पुनर्ताजगी तालिम र अनुभव आदानप्रदान कार्यक्रममार्फत नयाँ प्रविधि, नीति, निर्देशिकाका विषयमा जानकारी दिनुपर्छ। कुन प्रकारको पुनर्ताजगी कार्यक्रम सञ्चालन गर्ने भन्ने विषय व्यक्तिको जिम्मेवारी, स्वभाव, सीपको स्तर, कार्यमुकाम र उमेरजस्ता आधारमा निर्धारण गरिनुपर्छ।

हाल रहेको बढुवा प्रणालीमा परिवर्तन गर्नुपर्छ। प्रतिस्पर्धात्मक परीक्षालाई परिमार्जनसहित अपनाउन आवश्यक छ। कुनै पनि पदको एउटा वृत्ति चक्र (७ वर्ष) लाई उपल्लो पदमा परीक्षाको पूर्वसर्तका रूपमा लिनुपर्छ। ३० वर्षलाई अधिकृत सेवा प्रवेशको उमेर कायम गरी त्यसपछि प्रत्येक सात वर्षपछि मात्र माथिल्लो पदको प्रतिस्पर्धात्मक÷कार्यसम्पादन बढुवाको योग्यता सर्त कायम गरी यो क्रम त्यसपछिका पदहरूमा पनि कायम गर्नु उचित हुन्छ। बढुवा हुनका लागि निश्चित ब्राकेटभित्र परेका (नकारात्मक सचीमा नपरेका) लाई व्याच प्रणाली लागू गरिनुपर्छ।

सेवाग्राही नागरिकसँंग निरन्तर अन्तरक्रियाको स्वचालित प्रणाली बसाइनुपर्छ। कतिपय कार्यमा नागरिक पहुँच विस्तार र सहउत्पादन प्रक्रिया पनि अवलम्बन गर्न सकिन्छ। यस प्रकारको व्यवस्थाले निजमती सेवालाई सुध्रिने स्वाभाविक मनोवैज्ञानिक दबाब पर्छ। उत्कृष्ट कार्यसम्पादन गर्नेका लागि मात्र मान, पदवी पुरस्कारबाट प्रोत्साहन गरिनुपर्छ। पुरस्कार वा सम्मानबाट प्रोत्साहनको आधार सेवाग्राही सन्तुष्टिलाई पनि लिनुपर्छ भने प्रस्तावित व्यक्तिउपर सिकायत र सुनुवाइको च्यानल खुला गरिनुपर्छ। एकजना मात्र गलत व्यक्ति पुरस्कृत भएमा पूरै प्रणाली दण्डित हुन्छ, जसरी अहिले भएको छ।

युनियानिज्मको कार्यप्रणाली व्यवस्थित गर्न बेलायतको जस्तो ह्विट्ले काउन्सिल विधि अपनाउन सकिन्छ। युनियन एउटा मात्र हुनुपर्छ र त्यसले प्रणाली सुधार र निजामती सेवाका गरिमा विस्तार गर्न काम गर्नुपर्छ। यसको कार्यसम्पादन विधि बनाई सम्पादित कामको तेस्रो पक्षसमेत भएको परीक्षण संयन्त्र बनाइनुपर्छ। विधि र व्यवस्थालाई निर्मम विवेकशीलताको सिद्धान्तमा अवलम्बन गरिनुपर्छ। निजामती सेवाको पद हरेक दिन, महिना र पदमा परीक्षित हँुदै वृत्ति चढ्ने पद हो, त्यसको आधार कार्यसम्पादन क्षमता मात्र हो। यसर्थ प्रणाली निर्माण सहज होइन, तर असम्भव पनि छैन। मात्र वास्तविक इच्छाशक्ति चाहिन्छ।

Related Articles

Back to top button
Close