हेटौंडा, अशोज ३ गते । जेन जि आन्दोलनका क्रममा भएको धनजनको क्षति, युवाहरू र दलका कार्यकर्ताबीचको प्रतिशोधपूर्ण वाकयुद्ध, आक्रमण र छिटपुट घटनाले देश फेरि गृहयुद्धको भुमरीमा फस्न सक्ने आशंका बढेको नेपाल कम्युनिस्ट पार्टी मकवानपुरले जनाएको छ।
पार्टीका मकवानपुर इन्चार्ज राम सी ले सामाजिक सञ्जालमार्फत राखिएको स्टाटसमा सरकारले आन्दोलनमा सहभागी युवामाथि गोली चलाएर नरसंहार र हत्या गर्ने गलत कदम चालेकै कारण सरकार ढलेको उल्लेख गरेका छन्।
उनले तीनवटै सुरक्षा निकायको मौनता रहनु र ‘जेन जि’ आन्दोलनको नाममा सरकारी संरचना, गैरसरकारी सम्पत्ति, भ्रष्ट तथा गैरभ्रष्ट दुवै किसिमका सम्पत्तिमा भएको तोडफोड, आगजनी र धनजनको क्षतिलाई निन्दनीय र दुखद बताएका छन्।
“यी घटनाको जिम्मेवारी निर्दलिय सरकारले लिनुपर्छ र क्षतिपूर्ति व्यवस्था गर्नुपर्छ। गल्ती सबैले स्वीकार गरौं, रूपान्तरण बनौं,” विज्ञप्तिमा भनिएको छ।
साथै उनले निर्दलिय सरकारको विरुद्धमा गणतन्त्रको रक्षा र नेपाली विशेषतायुक्त समाजवादी व्यवस्था प्राप्तिका लागि सबै नागरिक र राजनीतिक दल एकजुट हुनुपर्नेमा जोड दिएका छन्।
पार्टीले जेन जि आन्दोलनका क्रममा प्राण गुमाएका “महान सहिद” प्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइते योद्धाहरूको शीघ्र उपचार र स्वास्थ्य लाभको कामना समेत गरेको छ।














