मनहरी,जेठ २० गते। मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित पुष्पलाल स्मृति आधारभूत स्वास्थ्य सेवा केन्द्रमा समुदायमा आधारित रोग निगरानी प्रणाली (Community-Based Surveillance) सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।
बुधबार आयोजित कार्यक्रममा समुदायमा देखिन सक्ने विभिन्न संक्रामक तथा अन्य स्वास्थ्य समस्याहरूको प्रारम्भिक पहिचान, सूचना संकलन तथा सम्बन्धित निकायसम्म समयमै जानकारी पुर्याउने विषयमा सहभागीहरूलाई जानकारी गराइएको थियो।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, सञ्चारकर्मी तथा समुदायका अन्य सरोकारवालाहरूको सहभागिता रहेको थियो। अभिमुखीकरणका क्रममा रोगका प्रारम्भिक संकेत तथा लक्षणहरू पहिचान गरी तत्काल सूचना प्रवाह गर्न समुदायको सक्रिय सहभागिता आवश्यक रहने विषयमा जोड दिइएको थियो।
सहभागीहरूलाई महामारी, संक्रामक रोग तथा अन्य स्वास्थ्य जोखिमका घटनाहरूको समयमै जानकारी उपलब्ध भएमा नियन्त्रण तथा रोकथामका प्रयासहरू प्रभावकारी बनाउन सकिने जानकारी दिइएको थियो।
प्यान्डेमिक फन्ड, युनिसेफ र पिएचआरडी नेपालको सहयोगमा सञ्चालन गरिएको उक्त कार्यक्रमले समुदायस्तरमै स्वास्थ्य जोखिमहरूको निगरानी तथा व्यवस्थापनलाई थप सुदृढ बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।
कार्यक्रममा मनहरी गाउँपालिका–६ का कार्यवाहक वडा अध्यक्ष विष्णु राई, सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहका सचिव रमेश कार्की, सञ्चारकर्मी जयराम मुक्तानलगायत स्थानीय सरोकारवालाहरूको उपस्थिति रहेको थियो।














