उर्लाबारी–पथरी जोड्ने सुन्झोडा खोलामा मोटरेबल पुल निर्माणको शिलान्यास, स्थानीयमा उत्साह

उर्लाबारी। मोरङको उर्लाबारी नगरपालिका र पथरी शनिश्चरे नगरपालिकालाई जोड्ने सुन्झोडा खोलामा बहुप्रतीक्षित मोटरेबल पुलको निर्माण कार्यको शिलान्यास गरिएको छ। वर्षौंदेखिको स्थानीय मागलाई सम्बोधन गर्दै शनिबार एक विशेष समारोहका बीच पुल निर्माणको औपचारिक सुरुवात गरिएको हो।शिलान्यास कार्यक्रममा संघीय सांसद डिकबहादुर लिम्बू (मोरङ–१) र शुनिल शर्मा (मोरङ–३) प्रमुख अतिथिका रूपमा उपस्थित थिए।

कार्यक्रममा कोशी प्रदेशसभा सदस्यहरू, पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहन तुम्बापो, उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेल, उपमेयर मीना खतिवडा पौडेल, विभिन्न राजनीतिक दलका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेखनीय उपस्थिति थियो। कार्यक्रममा बोल्दै सांसद लिम्बूले, “सरकार जनताको आवश्यकता र अपेक्षालाई प्राथमिकतामा राख्दै अघि बढिरहेको छ,” भन्दै पुल निर्माण त्यसको सजीव उदाहरण भएको बताए।

उनले उक्त पुलले यातायात मात्र होइन, स्थानीय आर्थिक तथा सामाजिक विकासमा पनि टेवा पुग्ने विश्वास व्यक्त गरे। त्यस्तै, सांसद शर्मा पुल निर्माणपछि उर्लाबारी र पथरीबीचको दूरी घट्ने, आपसी सामाजिक तथा आर्थिक सम्बन्ध सुदृढ हुने र बाढीजन्य जोखिम न्यूनीकरणमा समेत सहयोग पुग्नेमा आशावादी देखिए।

संघीय सरकारको ५६ करोड ८ लाख ९३ हजार रुपैयाँ लागतमा निर्माण हुने पुलको जिम्मा कार्की बन्धु कन्स्ट्रक्सन प्रालि, विराटनगरलाई दिइएको छ। २०८२ जेठ ८ गते ठेक्का सम्झौता भई २०८३ चैत ३० गतेभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको छ स्थानीय जनप्रतिनिधि तथा बासिन्दाहरूले यस आयोजनालाई ‘ऐतिहासिक उपलब्धि’का रूपमा स्वागत गरेका छन्। उनीहरूले पुलले भौगोलिक मात्र होइन, जनताको मनको दूरी समेत घटाउने विश्वास व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.