३१ औँ तामाङ प्रसारण दिवस भव्य रूपमा सम्पन्न, दुई पत्रकार सम्मानित

हेटौंडा,भदौ १। ३१ औँ तामाङ प्रसारण दिवसको अवसरमा तामाङ पत्रकार संघ, बागमती प्रदेश र तामाङ पत्रकार संघ मकवानपुरको संयुक्त आयोजनामा एक विशेष अन्तरक्रिया कार्यक्रम तथा पुरस्कार वितरण समारोह आज हेटौंडाको पल्पसा प्याराडाइज होममा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रमको औपचारिक उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाले पानसमा दीप प्रज्वलन गरी गरेका थिए। कार्यक्रममा बानियाले तामाङ भाषा, संस्कृति र समुदायको संरक्षण तथा प्रवर्द्धनलाई प्रदेश सरकारले उच्च प्राथमिकता दिने बताएका छन्। उनले जातका नाममा राजनीति नगरी, भाषालाई ज्ञानको रूपमा लिई सबै समुदायले आत्मसात गर्नुपर्नेमा जोड दिएका थिए।

मुख्यमन्त्री बानियाले भने, “धर्म भनेको मानवताको सेवा हो, राज्यले कुनै धर्म अपनाउँदैन। प्रदेश सरकार सबै जातजाति र भाषाभाषीको संरक्षण र प्रवर्द्धन गर्न कटिबद्ध छ,” भन्दै पत्रकारिताले सत्य, तथ्य र यथार्थमा आधारित हुनुपर्ने स्पष्ट पारे।

कार्यक्रम अन्तर्गत विशेष प्यानल छलफलमा सहभागी अतिथिहरूमा:

लोकबहादुर मोक्तान (अध्यक्ष, कैलाश गाउँपालिका, मकवानपुर)

मेम्बर लो तामाङ (संघीय सदस्य, नेपाल तामाङ घेदुङ)

दिपेन्द्र सुवेदी (सचिव, संस्कृति तथा पर्यटन मन्त्रालय, बागमती प्रदेश)

वरिष्ठ पत्रकार प्रताप बिष्ट

कृष्ण सारु मगर (अध्यक्ष, नेपाल पत्रकार महासंघ बागमती प्रदेश)

उनीहरूले तामाङ समुदायको सञ्चार, पत्रकारिता, भाषा तथा संस्कृति संरक्षणमा पत्रकारहरूको भूमिका र चुनौतीहरूबारे महत्वपूर्ण विचार राखेका थिए। अन्तरक्रिया कार्यक्रमलाई सञ्चालन भने पेमा लामाले गरेका थिए।

कार्यक्रमको सञ्चालन तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष जयराम तामाङले गरेका थिए भने उद्घाटनको सुरुवात तामाङ पत्रकार संघ मकवानपुरका उपध्याक्ष सन्देश थिङले गरेका थिए। कार्यक्रममा उपध्याक्ष थिङले सुरु गरेका नयाँ अनलाइन पोर्टल “विशेष पोस्ट डट कम” को पनि मुख्यमन्त्री बानियाद्वारा विधिवत उद्घाटन आजबाट गरिएको छ।

कार्यक्रमको दौरान मुख्यमन्त्री बानियाले बागमती प्रदेश तामाङ पत्रकार संघलाई आगामी दिनमा थप प्रभावकारी कामका लागि नगद रु २ लाखको चेक संघका अध्यक्ष ज्ञानेन्द्र तामाङलाई हस्तान्तरण गरे।

उक्त अवसरमा पत्रकारिता मार्फत तामाङ समुदायको इतिहास, भाषा, संस्कार, संस्कृति, परम्परा संरक्षणमा योगदान पुर्‍याउँदै आएका श्री सोमलाल घलान (भुवन) र श्री अर्जुन बहादुर तामाङ लाई सम्मान–पत्र, नगद राशी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।

कार्यक्रमको समापन बागमती प्रदेश तामाङ पत्रकार संघका अध्यक्ष ज्ञानेन्द्र तामाङले गरेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.