मनहरी, मंसिर ४ गते । बस्तीपुर जेसीज मनहरीको सप्ताहव्यापी कार्यक्रम–२०२५ अन्तर्गत आज छैटौँ कार्यक्रम अंतर्गत हेटौंडा उपमहानगरपालिका–३ स्थित बाल उज्जवल माध्यमिक विद्यालयमा कक्षा ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरी साइबर अपराध तथा लागुऔषध दुव्र्यसनसम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रम संयोजक जेसी रोशन भण्डारीको संयोजकत्वमा सम्पन्न कार्यक्रमको अध्यक्षता यसै शाखाका वर्ष २०२५ का अध्यक्ष जेसी सन्तोष उप्रेतीले गरेका थिए। विद्यालयका प्रधानाध्यापक शम्भु बर्तौला, व्यवस्थापन समितिका अध्यक्ष टेकनाथ शिवाकोटी, जिल्ला प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक सञ्जिता लामा र सुनील कुमार यादव लगायत अथितिहरु उपस्थित रहेका थिए।
हेनपा–३ का वडा अध्यक्ष ढलक बहादुर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमका क्रममा विद्यार्थीहरूलाई सामाजिक सञ्जालको सुरक्षित प्रयोग, साइबर अपराधका रूप, जोखिमका अवस्था तथा कानूनी सजायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। साथै, लागुऔषधको दुव्र्यसनबाट हुनसक्ने शारीरिक, मानसिक र सामाजिक असरबारे पनि प्रहरी प्रतिनिधिहरूले व्यवहारिक उदाहरणसहित सचेतना दिएका थिए।
सप्ताहव्यापी कार्यक्रमको छठौँ दिनको यस गतिविधिले विद्यार्थीहरूमा जिम्मेवारीपूर्ण नागरिकता, सुरक्षित डिजिटल व्यवहार र स्वस्थ जीवनशैलीबारे महत्त्वपूर्ण प्रभाव पार्ने विश्वास आयोजक बस्तीपुर जेसीज मनहरी परिवारले व्यक्त गरेको छ।














