मिटर ब्याज र हनिट्र्यापका पीडितको न्यायका लागि गम्भीर पहल आवश्यक : विशालराज महत

हेटौंडा, असोज १३ गते । मिटर ब्याज तथा हनिट्र्यापका नाममा आर्थिक र सामाजिक शोषणमा परेको भनिएका पीडितहरूको न्यायका लागि गम्भीर पहल आवश्यक रहेको सामाजिक अभियन्ता विशालराज महतले बताएका छन्।

‘सेवा, सहयोग र आवाजमा हामी’का अध्यक्षसमेत रहेका महतले सामाजिक सञ्जाल फेसबुक मार्फत मकवानपुरमा थोरै रकम दिएर करोडौँ मूल्यका घरजग्गा हडपिएको भनिएका दर्जनौँ गुनासो आफ्नो संस्थासम्म आइरहेको उल्लेख गरेका छन्। त्यस्तै, हनिट्र्यापका नाममा हुने आर्थिक तथा सामाजिक शोषणका घटनाबारे पनि पीडितहरू न्यायको खोजीमा संस्थामा आउने गरेको उनले बताएका छन्।

‘जनताको पक्षमा न्यायको आवाज’ अभियानअन्तर्गत संस्थामा दैनिक आउने पीडितका गुनासा सुन्ने, आवश्यक सल्लाह दिने तथा सम्बन्धित निकायसँग समन्वयको पहल गर्दै आएको महतले उल्लेख गरेका छन्।

मिटर ब्याज र हनिट्र्यापसँग सम्बन्धित विषयलाई व्यक्तिगत गुनासोमा मात्र सीमित नराखी कानुनी प्रक्रिया, प्रमाणको संरक्षण तथा पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न जिल्ला प्रशासनसँग थप व्यापक छलफल आवश्यक रहेको उनको भनाइ छ।

यसै सन्दर्भमा मकवानपुरका प्रमुख जिल्ला अधिकारीलाई औपचारिक रूपमा ध्यानाकर्षण गराउँदै पीडितका विषयमा आवश्यक सहजीकरण र समन्वयका लागि आग्रह गर्ने तयारी रहेको महतले बताएका छन्।

विगतमा पनि विभिन्न विषयमा प्रमुख जिल्ला अधिकारीबाट सहजीकरण भएको अनुभव रहेको उल्लेख गर्दै महतले यस संवेदनशील विषयमा पनि पीडितको कुरा सुन्ने, घटनाको सत्यतथ्य बुझ्ने र कानुनी प्रक्रियामार्फत न्यायको पहल गर्ने भूमिका रहने अपेक्षा व्यक्त गरेका छन्।

उनले पीडितको आवाज दबिन नहुने भन्दै अन्याय जहाँबाट भए पनि कानुनी प्रक्रियामार्फत प्रश्न उठाउनुपर्ने बताएका छन्। अभियान कुनै व्यक्तिको पक्षमा नभई न्यायको पक्षमा केन्द्रित रहेको उनको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.