वर्षापछि गलेको जमिनमा पहिरोको जोखिम, हेटौँडावासीलाई सतर्क रहन मेयर लामाको आग्रह

हेटौँडा असोज २१ गते । असोज ८ देखि १२ गतेसम्म भएको भारी वर्षाका कारण हेटौँडा लगायत देशका विभिन्न स्थानमा पहिरो गएको र वर्षाका कारण जमिन तथा सडक किनारा गलेको भन्दै हेटौँडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामाले पुनः वर्षा सुरु भएकाले सतर्क रहन आग्रह गरेकी छन्।

मेयर लामाले सामाजिक सञ्जाल फेसबुक मार्फत वर्षाका कारण गलेको जमिन तथा सडक किनारमा पुनः पहिरो खस्न सक्ने जोखिम रहेको भन्दै पहिरो जोखिम क्षेत्रमा नजान र यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेकी हुन्।

उनले वर्षाका कारण जमिन कमजोर बनेको अवस्थामा पुनः वर्षा हुँदा पहिरोको जोखिम बढ्न सक्ने भन्दै नागरिकलाई सचेत रहन अनुरोध गरेकी छन्।

मेयर लामाका अनुसार पहिरोको जोखिमलाई ध्यानमा राख्दै हेटौँडा उपमहानगरपालिका आवश्यक तयारी अवस्थामा रहेको छ। वर्षाका कारण कुनै स्थानमा समस्या उत्पन्न भएमा तत्काल उपमहानगरपालिकालाई जानकारी गराउन उनले आग्रह गरेकी छन्।

उनले नागरिकको सुरक्षा र सम्भावित जोखिम न्यूनीकरणका लागि सबैलाई सावधानी अपनाउन समेत अनुरोध गरेकी छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.