हेटौंडा,जेठ १२ गते। जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज दिउँसोपछि तीव्र गतिको हावाहुरी चल्ने सम्भावना रहेको भन्दै जिल्लावासीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाद्वारा जारी सूचनाका आधारमा प्रशासन कार्यालयले सूचना जारी गर्दै हावाहुरीका कारण रुख ढल्ने, बिजुलीका पोल तथा तारमा क्षति पुग्ने, टिनका छाना उड्ने तथा खुला स्थानमा रहेका सामग्रीहरू उड्ने वा क्षति पुग्न सक्ने जनाएको छ।
सूचनामा हावाहुरीका कारण अप्रत्यासित दुर्घटना समेत हुन सक्ने भएकाले सबै नागरिकलाई सचेत र सुरक्षित रहन अनुरोध गरिएको छ। विशेषगरी खुला स्थानमा अनावश्यक रूपमा नबस्न, कमजोर संरचनाको वरिपरि सावधानी अपनाउन तथा विद्युत् लाइन नजिक सतर्क रहन आग्रह गरिएको छ।
त्यसैगरी, सम्बन्धित सबै सरोकारवाला निकायलाई सम्भावित अवरोध र क्षतिलाई तत्काल व्यवस्थापन गर्न तयारी अवस्थामा रहन तथा आवश्यक परे QRT टोली परिचालन गरी सेवा सुचारु राख्न निर्देशन दिइएको छ।















