मनहरी, भदौ १९ गते । मकवानपुरको राक्सिराङ गाउँपालिका–५ बोटबारीस्थित मनहरी खोलाले बगाएर बेपत्ता भएकी एक महिलाको शव फेला परेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार कैलाश गाउँपालिका–७ डुम्बरे बस्ने करिब ६० वर्षीया कान्छीमाया चेपाङलाई हिजो साँझ करिब ७ः२० बजेको समयमा मनहरी खोला तर्ने क्रममा खोलाले बगाएको थियो। उनी राक्सिराङ गाउँपालिका–३ आउलेस्थित माइती घरबाट आफ्नो घरतर्फ जाने क्रममा खोला तर्दै गर्दा बगेकी थिइन्।
घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी चैनपुर र इलाका प्रहरी कार्यालय मनहरीबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरीले राक्सिराङ गाउँपालिकाको नगर प्रहरीसँग समन्वय गरी तत्काल खोज तथा उद्धार कार्य अघि बढाएको थियो।
खोजीका क्रममा भदौ १९ गते बिहान करिब ७ः१० बजे बगाएको स्थानबाट करिब ५ किलोमिटर तल राक्सिराङ गाउँपालिका–५ ठाडेस्थित मनहरी खोलामा कान्छीमाया मृत अवस्थामा फेला परेकी हुन्।
घटनास्थलमा प्रहरी चौकी चैनपुरबाट प्रहरी टोली पुगेको थियो भने मृतकका आफन्तसमेत घटनास्थलमा पुगेका थिए। घटनाबारे थप अनुसन्धान तथा मुचुल्काका लागि इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक सूर्यप्रकाश भट्टको कमाण्डमा SOCO सहितको अनुसन्धान टोली घटनास्थलतर्फ खटिएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।














