मकवानपुरगढी, भदौ २४ गते । नेकपा एमालेका केन्द्रीय लेखा आयोग सदस्य नवीन सिग्देलले पार्टीको पुनर्जागरण र पुनर्गठनमार्फत एमालेलाई पुनः राष्ट्रिय निर्णायक शक्तिका रूपमा स्थापित गर्ने बताएका छन्।

नेकपा एमाले मकवानपुरगढी गाउँपालिका कमिटीद्वारा आयोजित ‘मिसन पार्टी जागरण–२०८३’ अभिमुखीकरण कार्यक्रममा बोल्दै सिग्देलले पार्टीप्रति फैलाइएका भ्रम चिर्ने, कार्यकर्ता तथा जनतामा देखिएको निराशा अन्त्य गर्ने र एमालेलाई पहिलो शक्तिका रूपमा स्थापित गर्ने अभियान सञ्चालन भइरहेको बताए।
मकवानपुरगढी गाउँपालिकाका लागि ‘मिसन जागरण’ अभियानका केन्द्रीय प्रतिनिधिसमेत रहेका सिग्देलले अभियान वडा, कार्यकर्ता र जनताकेन्द्रित हुने बताए। उनले पछिल्लो समय बालेन्द्र नेतृत्वको सरकारप्रति जनताको मोहभंग हुँदै गएको दाबी गर्दै संकट र विपत्तिका समयमा जनताले एमाले खोजिरहेको बताए।
कार्यक्रममा एमाले प्रदेश कमिटी सदस्य रामचन्द्र राईले जनतासँगको सम्बन्ध थप सुदृढ बनाउन प्रत्येक कार्यकर्ता जनताका समस्यासँग जोडिनुपर्नेमा जोड दिए। सबै तहका नेता तथा कमिटीले भएका कमजोरी सच्याउँदै भनाइ र गराइमा एकरूपता कायम गर्नुपर्ने उनको भनाइ थियो।
राईले वर्तमान सरकारका मन्त्रीहरूप्रति जनताको अपेक्षा नरहेको दाबी गर्दै सरकार क्रमशः गैरजिम्मेवार बन्दै गएको आरोप लगाए। कम्युनिष्ट पार्टीको लक्ष्य निर्वाचन जित्नु मात्रै नभई सामाजिक रूपान्तरणसमेत रहेको उल्लेख गर्दै उनले बढ्दो जनअपेक्षा सम्बोधन गर्न एमालेको नेतृत्व आवश्यक रहेको बताए।
नेकपा एमाले मकवानपुर जिल्ला कमिटीका कार्यवाहक अध्यक्ष हिदम लामाले नेपाली राजनीतिमा भूराजनीतिक प्रभाव विगतदेखि नै रहँदै आएको र पछिल्लो समय बाह्य हस्तक्षेप थप प्रत्यक्ष देखिन थालेको बताए। उनले जेठ २४ गतेको घटनालाई नेपालको इतिहासमा ‘कालो दिन’ का रूपमा चित्रण गर्दै राष्ट्रिय सम्पदा, सरकारी तथा निजी सम्पत्ति जलाउने कार्य जनजीको माग नभएको दाबी गरे।
लामाले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा तथा विकास र समृद्धिका लागि एमालेको विकल्प नरहेको दाबी गरे। बालेन्द्र नेतृत्वको सरकारको ६ महिने कार्यकालमा देखिएको असक्षमताले समेत यसको पुष्टि गरेको उनको भनाइ थियो।
अभिमुखीकरण कार्यक्रममा पार्टी सदस्यता नवीकरण तथा विस्तार, वडास्तरीय पार्टी सदस्य भेला, वडा तथा टोल कमिटी पुनर्गठन, जनसंगठन पालिका संयन्त्र भेला तथा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान र चियापानलगायतका कार्यक्रम तय गरिएको पालिका कमिटी सचिव रोमनाथ रेग्मीले जानकारी दिए।
पालिका कमिटी अध्यक्ष जीतबहादुर घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला सचिवालय सदस्य विदुर हुँमागाईं, कमिटी उपसचिव अम्बिका अधिकारीलगायतले मन्तव्य राखेका थिए। कार्यक्रममा प्रदेश कमिटी सदस्य निर्मला देवकोटा, जिल्ला सचिवालय सदस्य मेम्बर लोलगायतको उपस्थिति थियो।














