गौशला नगरपालिकाका ३१ प्रधानाध्यापकद्वारा सामूहिक राजीनामा

महोत्तरी। महोत्तरीको गौशाला नगरपालिकाका ३१ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूले सामूहिक राजीनामा दिएका छन्।
प्रधानाध्यापकहरूले चालु आर्थिक वर्षको अन्त्यसम्म पनि दिवा खाजा, पाठ्यपुस्तक, बाल शिक्षा अनुदान, नगर शिक्षक, सशर्त अनुदान, पुँजीगत तथा स्वैच्छिक अनुदान लगायतका विभिन्न शीर्षकमा बारम्बार अनुरोध गर्दा पनि नगरपालिकाबाट रकम निकासा नभएको भन्दै नगरपालिकाको प्रशासन शाखामा राजीनामाको पत्र बुझाएका हुन्।

उनीहरूका अनुसार केही शीर्षकमा नगरपालिकाले अत्यन्तै न्यून रकम पठाएकाले शैक्षिक क्रियाकलाप सञ्चालन गर्न कठिनाइ भइरहेको गुनासो छ। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरिएको राजीनामा पत्रमा भनिएको छ, “नगरपालिकाबाट उक्त शीर्षक अन्तर्गतको रकम निकासा नगरिदिएको अवस्थाबाट शैक्षिक गतिविधि प्रभावित हुने भएकाले साउन १ गतेदेखि लागु हुनेगरी यो सामूहिक राजीनामा पत्र पेश गरेका छौं ।”

प्रधानाध्यापकहरूले आफूहरूको समस्या समाधानका लागि रोक्का गरिएका शीर्षकहरूमा यथाशीघ्र रकम निकासाको माग समेत राखेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.