हेटौडा,जेठ २ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले जिल्लाका विभिन्न पालिकामा हुने अधिवेशनको तालिका सार्वजनिक गरेको छ । शनिबार हेटौँडामा बसेको जिल्ला कमिटी बैठकले हेटौँडा उपमहानगरपालिकासहित जिल्लाका १० वटै पालिकामा जेठ महिनाको दोस्रो साताभित्र अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैठकले थाहा नगरपालिकामा जेठ ९ गते अधिवेशन गर्ने निर्णय गर्दै त्यसको जिम्मेवारी राजकुमार कार्की र रमेश थापालाई दिएको छ । यस्तै, जेठ १० गते हेटौँडा उपमहानगरपालिका र मनहरी गाउँपालिकाको अधिवेशन हुने तय गरिएको छ । उक्त अधिवेशनका लागि विष्णु दाहाल, टाकाराज थापा, किशोर अर्याल र ईश्वर दाहाललाई जिम्मेवारी तोकिएको पार्टीले जनाएको छ ।
त्यसैगरी, जेठ १३ गते इन्द्रसरोवर गाउँपालिकामा अधिवेशन आयोजना गरिनेछ । सो अधिवेशनको जिम्मेवारी पनि राजकुमार कार्की र रमेश थापालाई नै दिइएको छ ।
जेठ १५ गते मकवानपुरगढी गाउँपालिकामा अधिवेशन हुने तालिका तय गरिएको छ । उक्त पालिकाको अधिवेशनका लागि विष्णु दाहाल र टाकाराज थापालाई जिम्मेवारी दिइएको छ ।
यस्तै, जेठ १६ गते बागमती, बकैया र राक्सिराङ गाउँपालिकामा अधिवेशन हुने भएको छ । ती पालिकाको अधिवेशन व्यवस्थापनका लागि सुनिता राई, विवेक कट्टेल, अस्मिता न्यौपाने, विवेक सुवेदी र सन्तोष बर्तौलालाई जिम्मेवारी प्रदान गरिएको छ ।
शनिबार सम्पन्न जिल्ला कमिटी बैठक प्रकाश गौतमको अध्यक्षतामा बसेको थियो । बैठकले जिल्ला अधिवेशनअघि सबै पालिकामा अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको जनाएको छ । मकवानपुरका १० पालिकामध्ये भीमफेदी गाउँपालिकामा भने यसअघि नै अधिवेशन सम्पन्न भइसकेको रास्वपाले जनाएको छ ।














