नेपालको शानदार पुनरागमन : अमेरिकामाथि ९ विकेटको फराकिलो विजय, कुशलको विस्फोटक शतक

Cricket ball on top of cricket bat on green grass of cricket ground background

काठमाडौं,जेठ २ गते । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु मैदानमा जारी शृंखलामा नेपालले अमेरिकामाथि प्रभावशाली विजय हासिल गरेको छ। शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले अमेरिकालाई ९ विकेटले पराजित गर्दै महत्वपूर्ण दुई अंक जोडेको हो।

अमेरिकाले दिएको १९५ रनको लक्ष्य नेपालले केवल १ विकेट गुमाएर ३६ दशमलव ४ ओभरमै पूरा गर्‍यो। नेपालको सहज जितमा प्रारम्भिक ब्याट्सम्यान कुशल भुर्तेलले उत्कृष्ट शतकीय पारी खेले। उनले ११८ बलमा १२० रन बनाउने क्रममा आकर्षक चौका र छक्का प्रहार गरे।

कुशललाई अर्का प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखले मजबुत साथ दिए। दुवैले पहिलो विकेटका लागि १४५ रनको महत्वपूर्ण साझेदारी गर्दै नेपालको जितको आधार तयार पारे। आसिफले संयमित ब्याटिङ गर्दै महत्वपूर्ण योगदान दिएपछि नेपाल लक्ष्यतर्फ सहज रूपमा अघि बढेको थियो।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकालाई नेपालका बलरहरूले दबाबमा राखेका थिए। अमेरिकी टोली ४३ दशमलव ३ ओभरमा १९५ रनमै समेटियो। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए। त्यस्तै सोमपाल कामीले २ विकेट हात पारे भने सन्दीप लामिछाने र गुल्सन झाले समान १–१ विकेट लिए।

यो जितसँगै नेपालले अंक तालिकामा २० अंक पुर्‍याएको छ। हाल नेपाल सातौँ स्थानमा रहेको छ। लिग–२ को शीर्ष स्थानमा स्कटल्यान्ड ३८ अंकसहित रहेको छ भने क्यानडा २१ अंकसहित छैटौँ र नामिबिया २२ अंकसहित पाँचौँ स्थानमा छन्। पुछारमा रहेको संयुक्त अरब इमिरेट्सको १४ अंक छ।

यसअघि शृंखलाको पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो। अब नेपालले आगामी सोमबार पुनः स्कटल्यान्डसँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.