सीमामा बस्ने नेपालीको सुरक्षा र पहिचान सुनिश्चित गर्न सरकारको ठोस नीति आवश्यक : सामाजिक अभियन्ता विशालराज महत

हेटौंडा,जेठ १९ गते। सामाजिक अभियन्ता तथा सेवा सहयोग र आवाजका अध्यक्ष विशालराज महतले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूको सुरक्षा, सम्मान र राष्ट्रिय पहिचानको संरक्षणका लागि सरकारले ठोस नीति र प्रभावकारी कदम चाल्नुपर्ने बताएका छन्।

महतले आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत व्यक्त गरेको धारणा अनुसार राष्ट्रियताको विषय भाषण र नारामा मात्र सीमित हुन नहुने बताएका छन्। उनले ग्रेटर नेपाल, सन् १९५० को नेपाल–भारत सन्धि तथा विभिन्न अन्तर्राष्ट्रिय सन्धि–सम्झौताबारे बहस हुने गरे पनि सीमामा बस्ने नेपाली नागरिकहरू दैनिक रूपमा आफ्नो अस्तित्व, सुरक्षा र राष्ट्रिय पहिचानको रक्षा गर्न संघर्षरत रहेको उल्लेख गरेका छन्।

उनले सीमावर्ती क्षेत्रमा बसोबास गर्ने नेपालीहरू आफ्नो तथा परिवारको ज्यान जोखिममा राखेर पनि गर्वका साथ “हामी नेपाली हौं” भनेर उभिएको बताएका छन्। सीमा विवादका क्रममा नेपाली नागरिकहरूले ज्यान गुमाउनुपरेका घटनाहरूले राज्यलाई थप जिम्मेवार बन्नुपर्ने सन्देश दिएको उनको भनाइ छ।

महतले यस्तो संवेदनशील विषयमा सरकारको स्पष्ट नीति, ठोस कदम तथा ऐतिहासिक दस्तावेज र पञ्चशीलका सिद्धान्तलाई आधार बनाएर दूरदर्शी निर्णय गर्नुपर्नेमा जोड दिएका छन्। भावनात्मक उत्तेजनाभन्दा कूटनीतिक बुद्धिमत्ता, संयमता र राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्नुपर्ने उनको धारणा छ।

उनका अनुसार सीमासम्बन्धी कुनै पनि निर्णयको प्रत्यक्ष प्रभाव सीमावर्ती क्षेत्रका नागरिकहरूमा पर्ने भएकाले उनीहरूको सुरक्षा, सम्मान र अधिकारलाई प्राथमिकतामा राखिनुपर्छ। राष्ट्रप्रेम केवल शब्दमा सीमित नभई सीमामा बस्ने नागरिकहरूको जीवन र अधिकारको संरक्षण गर्न सक्ने राज्यको जिम्मेवारीमार्फत पनि व्यवहारमा देखिनुपर्ने महतले बताएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.