हेटौंडा,जेठ १९ गते। सामाजिक अभियन्ता तथा सेवा सहयोग र आवाजका अध्यक्ष विशालराज महतले सर्प उद्धारकर्ताहरूको सुरक्षा, सम्मान र भविष्य सुनिश्चित गर्न राज्यले विशेष नीति निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै महतले समाजको सुरक्षाका लागि निरन्तर खटिने सर्प उद्धारकर्ताहरूको योगदानको उचित मूल्याङ्कन हुन नसकेको बताएका छन्। उनले सर्प उद्धार कार्यलाई केवल स्वयंसेवी गतिविधिका रूपमा नभई सार्वजनिक सुरक्षा र वातावरण संरक्षणसँग जोडिएको महत्वपूर्ण सेवाका रूपमा राज्यले स्वीकार गर्नुपर्ने उल्लेख गरेका छन्।
महतले मकवानपुरका सक्रिय सर्प उद्धारकर्ता राजेश थापा (गरिब) सर्प उद्धारकै क्रममा सर्पदंशको शिकार भई हेटौंडा अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत रहेको उल्लेख गर्दै उनको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। हाल उनको स्वास्थ्य अवस्था खतरा मुक्त रहेको जानकारीले राहत मिलेको पनि महतले बताएका छन्।
फेसबुकमा सार्वजनिक गरेको स्टाटसमा महतले “सर्प मार्नु हुँदैन, वातावरणका लागि आवश्यक छ” भन्ने कुरा व्यवहारमा उतार्न आफ्नो ज्यान जोखिममा राखेर काम गर्ने सर्प उद्धारकर्ताहरूको योगदान र पीडा प्रायः ओझेलमा पर्ने गरेको उल्लेख गरेका छन्।
उनका अनुसार घर, विद्यालय, कार्यालय तथा बस्तीमा पुगेका सर्पलाई सुरक्षित रूपमा उद्धार गरेर मानिस र वन्यजन्तु दुवैको जीवन जोगाउने काममा संलग्न सर्प उद्धारकर्ताहरूले राज्यबाट अपेक्षित संरक्षण, सुविधा तथा सम्मान पाउन सकेका छैनन्।
नेपालमा प्रत्येक वर्ष हजारौं मानिस सर्पदंशको जोखिममा पर्ने र सयौंले ज्यान गुमाउने तथ्यलाई स्मरण गराउँदै महतले समुदायलाई सुरक्षित राख्न सर्प उद्धारकर्ताहरूले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताएका छन्। तर उनीहरूका लागि बीमा, जोखिम भत्ता, विशेष स्वास्थ्य सुविधा, नियमित तालिम, सुरक्षात्मक सामग्री तथा आकस्मिक उपचारको सुनिश्चित व्यवस्था गर्ने स्पष्ट सरकारी नीति अभाव रहेको उनको भनाइ छ।
महतले राज्यले सर्प उद्धारलाई केवल स्वयंसेवी कार्यका रूपमा मात्र नभई सार्वजनिक सुरक्षा र वातावरण संरक्षणसँग प्रत्यक्ष रूपमा जोडिएको सेवाका रूपमा स्वीकार गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। साथै सर्प उद्धारकर्ताहरूको सुरक्षा, सम्मान र भविष्य सुनिश्चित गर्न विशेष नीति तथा कार्यक्रम ल्याउन सरकारको ध्यानाकर्षण गराएका छन्।
“समाजलाई सुरक्षित राख्न खटिनेहरूको सुरक्षा गर्नु पनि राज्यको दायित्व हो,” महतले आफ्नो धारणामा उल्लेख गरेका छन्।
सर्प उद्धारकर्ताहरूको भूमिकालाई राज्यले औपचारिक रूपमा मान्यता दिँदै आवश्यक सुरक्षा र सुविधा उपलब्ध गराउनुपर्ने मागसमेत महतले गरेका छन्।














