नुवाकोट, भदौ १९ गते । बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालय, नुवाकोटले जिल्लाका विभिन्न सडक तथा आवागमनसँग सम्बन्धित पूर्वाधार मर्मत तथा निर्माण कार्यलाई तीव्रता दिएको छ।
कार्यालयका अनुसार चौघडा पुल–बाहुनबेँसी–नर्जामाण्डप–लच्याङ–सरमथली–पर्च्याङ सडकखण्डमा ४ वटा जेसीबी र १ वटा टिपर प्रयोग गरी मर्मत कार्य भइरहेको छ। त्यसैगरी विदुर–चोगते–बोरेभञ्ज्याङ–लच्याङ–सरमथली–पर्च्याङ सडक, चोगते–उपल्लो गेर्खुटार–केराघारी सडक, चोगते–कुवापानी–बेत्रावती सडक तथा कल्याणी–मलागाउँ–निरञ्जना सडकमा समेत मर्मत कार्य जारी रहेको छ।
यसैगरी हर्रे–कल्याणी सडक, बागखोर–झ्याङ्ली सडक र तादी पुल–मलागाउँ हुँदै बागखोरसम्मको सडक मर्मत कार्य पनि सञ्चालनमा रहेको कार्यालयले जनाएको छ।
सडक मर्मतसँगै नदी तथा खोलाका कारण प्रभावित आवागमनलाई सहज बनाउन तुइन निर्माणको कामसमेत अघि बढाइएको छ। त्रिशूली बजार–इन्द्रायणी कोलोनी क्षेत्रमा तुइन निर्माण सम्पन्न भई सञ्चालनमा आइसकेको छ भने देवीघाट क्षेत्रमा तुइन निर्माण कार्य जारी रहेको र आजै सम्पन्न हुने जनाइएको छ।
त्यस्तै, चन्द्रज्योति होल्डिङ सेन्टरमा ग्राभेल गर्ने कार्यसमेत सम्पन्न भएको छ।
विभिन्न सडकखण्डमा मर्मत तथा पूर्वाधार निर्माणका काम अघि बढेसँगै वर्षाका कारण प्रभावित सडक तथा स्थानीय आवागमन क्रमशः सहज हुने अपेक्षा गरिएको छ।














