हेटौंडा, भदौ १९ गते । रसुवा–भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीलगायत जिल्लामा भएको मानवीय तथा भौतिक क्षतिप्रति मकवानपुरमा क्रियाशील राजनीतिक दलहरूले गहिरो दुःख व्यक्त गरेका छन्।
मकवानपुरस्थित विभिन्न राजनीतिक दलहरूले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै प्राकृतिक विपद्का कारण प्रभावित नागरिकहरूको जीवनरक्षा, खोज तथा उद्धार, राहत र पुनःस्थापनाका कार्यलाई प्रभावकारी, समन्वयात्मक र तीव्र बनाउन राज्यका सम्पूर्ण संयन्त्र तथा राजनीतिक दलहरूबीच आवश्यक सहकार्य र एकताको आवश्यकता रहेको बताएका छन्।
विपद्मा हराइरहेकाहरूको सकुशल उद्धार तथा खोजी, घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्न संयुक्त रूपमा पुष्प अर्पण कार्यक्रम आयोजना गर्न लागिएको विज्ञप्तिमा उल्लेख छ।
राजनीतिक दलहरूले जिल्लाभरिका संघ–संस्था, सरकारी निकाय, नागरिक समाज, मानव अधिकारकर्मी, पत्रकार, उद्योगी–व्यवसायी तथा आम नागरिकलाई कार्यक्रममा उपस्थितिका लागि हार्दिक आह्वान गरेका छन्।
संयुक्त प्रेस विज्ञप्तिअनुसार २०८३ भदौ २२ गते बिहान ८ बजे हेटौंडाको बुद्धचोकमा पुष्प अर्पण कार्यक्रम आयोजना गरिनेछ।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सञ्जीव पाठक, नेपाली कांग्रेसका बुद्ध लामा, नेकपा एमालेकी सीता बिष्ट, नेपाल कम्युनिस्ट पार्टीका ध्रुव भुजेल, श्रम संस्कृति पार्टीका युनेश लामा सिन्तान, राष्ट्रिय प्रजातन्त्र पार्टीका गुरुप्रसाद सापकोटा र उज्यालो नेपाल पार्टीका मिनराज तितुङसहित विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको संयुक्त हस्ताक्षर रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
दलहरूले विपद्को यस कठिन घडीमा पीडित नागरिकको साथमा उभिन तथा उद्धार, राहत र पुनःस्थापनाका प्रयासमा सामूहिक एकता र सहकार्यलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।














