हेटौँडा, असोज १४ गते । सेवा, सहयोग र आवाजमा संस्थाका अध्यक्ष तथा सामाजिक अभियन्ता विशालराज महतले हेटौँडा सुधारका लागि सामाजिक सञ्जालमा स्टाटस लेख्नु मात्र पर्याप्त नहुने भन्दै जनताले उठाएका प्रश्नको जवाफ खोज्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।
महतले आफ्नो फेसबुकमा स्टाटस लेख्दै हेटौँडा सुधार्ने कुरा गर्नेहरूले कृत्रिम बुद्धिमत्ता (एआई) र च्याटजीपीटीको स्क्रिनमा भन्दा जनताको मन, मुटु र मस्तिष्क बुझ्नुपर्ने बताएका छन्। उनले फेसबुकका स्टाटस र नयाँ नाराभन्दा बजार, प्रशासन, सार्वजनिक सेवा तथा स्थानीय तहसँग जोडिएका विषयमा देखिएका प्रश्नको जवाफ खोज्नुपर्ने उल्लेख गरेका छन्।
उनले खाद्यान्नको मूल्यवृद्धि, बजार अनुगमन, खुला खाद्यान्नको प्याकिङ तथा बिक्री, उपभोक्ता स्वास्थ्य र करसम्बन्धी विषयमा प्रश्न उठाएका छन्। भदौमा प्रतिकिलो १ सय रुपैयाँ रहेको सख्खर असोजमा १ सय ४० रुपैयाँ पुगेको उदाहरण दिँदै मूल्यवृद्धिको कारण र बजार अनुगमनको प्रभावकारिताबारे प्रश्न गर्नुपर्ने बताएका छन्।
त्यस्तै, आधारभूत खाद्यान्नमा ३० प्रतिशतभन्दा बढी मुनाफा लिइएको भन्ने गुनासो, हेटौँडामै खुला खाद्यान्न खरिद गरी बिना दर्ता तथा लेबलिङ प्याकिङ गरेर बिक्री भइरहेको भनिएको अवस्था र त्यसको नियमन तथा अनुगमनबारे पनि उनले प्रश्न गरेका छन्।
महतले केही कारोबारीसँग सम्बन्धित अनुसन्धान र मुद्दाका विषयमा समेत प्रश्न उठाउँदै अनुसन्धानको दायरा तथा प्रक्रियाबारे स्पष्टता आवश्यक रहेको बताएका छन्। सरकारी विद्यालयका पोसाकको ठेक्का एउटै समूह वा व्यक्तिले पटक–पटक पाउने गरेको भन्ने प्रश्न उठेको भन्दै सार्वजनिक खरिद प्रक्रियाको पारदर्शितामाथि पनि उनले चासो व्यक्त गरेका छन्।
विद्यालयको सभाहल सम्झौताबिना प्रयोग गरिएको भए त्यसमा नियम र जिम्मेवारीको अवस्था के हो भन्ने प्रश्न गर्दै उनले सार्वजनिक सम्पत्तिको प्रयोगमा समान नियम लागू हुनुपर्ने धारणा राखेका छन्। त्यस्तै, सामान्य वर्षामै सडकमा पानीको निकास नहुने समस्या र अन्य विषयमा नियामक निकायको प्राथमिकताबारे पनि उनले प्रश्न गरेका छन्।
जग्गा कित्ताकाट, निर्वाचनसँग सम्बन्धित कानुनी प्रतिनिधित्व, सर्वसाधारणका निवेदन दर्ता तथा कानुनी सेवामा पहुँच, सिडिओ कार्यालयमा भएको भनिएको सहमति र त्यसपछि उत्पन्न हुने कानुनी विवादलगायत विषयमा पनि महतले प्रश्न उठाएका छन्।
सरकारी कर्मचारीलाई धम्की दिइएको भनिएका घटनामा कानुनी कारबाही र पहुँचको प्रभावबारे समेत प्रश्न गर्दै उनले कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने बताएका छन्। राजनीतिक दल फरक भए पनि पारिवारिक तथा व्यक्तिगत सम्बन्धका आधारमा विभिन्न क्षेत्रमा प्रभाव कायम रहेको भन्ने जनगुनासोबारे पनि उनले सम्बन्धित पक्षले जवाफ दिनुपर्ने उल्लेख गरेका छन्।
महतले हेटौँडा सुधारका लागि नयाँ नारा मात्र नभई विगतदेखि उठ्दै आएका प्रश्नको जवाफ आवश्यक रहेको बताएका छन्। जनताले आफ्नै आँखाले बजारको अवस्था हेरेको, आफ्नै कानले कुरा सुनेको र आफ्नै अनुभवबाट व्यवस्थालाई बुझेको उल्लेख गर्दै उनले जनताका प्रश्न र सम्बन्धित निकायको उत्तरबीच संवाद आवश्यक रहेको बताएका छन्।
उनले आफ्नो स्टाटसको अन्त्यमा “कसैको पक्ष वा विपक्ष होइन, प्रश्न जहाँ छ, जवाफ त्यहीँ खोजौँ” भन्ने धारणा राख्दै जनताको प्रश्नको सम्बन्धित निकायबाट जवाफ खोजिनुपर्ने बताएका छन्।














