मकवानपुर, मंसिर ९ गते । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) मकवानपुरले आज १२औँ पार्टी पुनर्गठन दिवसका अवसरमा हेटौंडा–११, थानाभर्याङमा विशेष शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। पार्टी पुनर्गठन दिवससँगै २५औँ जनमुक्ति सेना स्थापना दिवसको संयुक्त अवसरमा आयोजित कार्यक्रममा नेता–कार्यकर्ता तथा स्थानीयवासीको उल्लेख्य सहभागिता रह्यो।

कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज राम सीले पुनर्गठन दिवसले पार्टीलाई जनताको पक्षमा झनै दृढतापूर्वक अघि बढ्न प्रेरणा दिएको बताए। उनले पुनर्गठनपछिका १२ वर्ष भित्र पार्टीले भ्रष्टाचार, वेथिती र अनियमितताविरुद्ध निरन्तर खबरदारी गर्दै आएको उल्लेख गर्दै, अब आगामी निर्वाचन मोर्चामार्फत जनताको आवाज सत्ता र नीतिनिर्माण तहसम्म पु¥याउन सबैको साथ आवश्यक रहेको आग्रह गरे।
कार्यक्रम नेकपा (माओवादी) मकवानपुरका जिल्ला सेक्रेटरी मिङ्मार सीको सभाध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन जिल्ला सचिवालय सदस्य सुर्य सीले गरेका थिए। पार्टीगत उत्सवको माध्यमबाट संगठनलाई नयाँ ऊर्जा र जनतासँगको सम्बन्धलाई अझ सुदृढ बनाउने अपेक्षा आयोजकहरूले व्यक्त गरेका छन्।














