मनहरी, मंसिर १२ गते । बस्तिपुर जेसिज मनहरीले सप्ताहव्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन मंसिर ११ गते ३ वटा कार्यक्रम सम्पन्न गरेको छ । वर्ष २०२६ का अध्यक्ष जेसि सुरज बर्तौलाको नेतृत्वमा उक्त कार्यक्रम भएको हो ।

बस्तिपुर जेसिज मनहरीले प्रत्येक वर्ष झैँ यस वर्ष पनि विभिन्न सात वटा कार्यक्रमको आयोजना गरि जेसिज सप्ताह मनाउँदै आइरहेको छ । कार्यक्रमको पहिलो दिन मंसिर ११ गते विभिन्न ३ वटा कार्यक्रम सम्पन्न गरेको छ । जस अन्तर्गत हेटौंडा-१९, बस्तिपुर चोकमा रक्तदान कार्यक्रम सन्चालन गरि उद्घाटन गरेको थियो । राममणी बर्तौलाको प्रमुख आतिथ्यता र जेसि सुदिप उप्रेतीको संयोजकत्वमा उक्त कार्यक्रम भएको हो ।

त्यसैगरी हाँडिखोला स्थित महेन्द्रज्योती माविमा अन्तर मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता कार्यक्रम सन्चालन गरेको थियो । “नेपालले खेपिरहेको प्रमुख समस्या विश्वव्यापी तापमान वृद्धि” (Global Warming: A major problem facing Nepal) विषयक वक्तृत्वकला प्रतियोगिता कार्यक्रममा महेन्द्र किरन माविका छात्रा यज्ञ कुमारी सुनार प्रथम भएकी छन् भने प्रजा माविका युनिषा स्याङ्तान द्वितीय, राष्ट्रिय रोटरी माविका सदिक्षा बर्तौला तृतीय र सनसाइन इङ्लिस बोर्डिङ स्कुलका वशना खड्का सान्त्वना भएकी छन् । जेसि सुर्य बहादुर गोलेको संयोजकत्वमा भएको वक्तृत्वकला कार्यक्रममा मनहरी-३ का वडाध्यक्ष अनन्त अर्यालको प्रमुख आतिथ्यता रहेको छ ।

साथै शुक्रबार दिउँसो मनहरी-२, बुद्धचोकमा खेलकुद सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । मनहरी-२ का वडाध्यक्ष राजकुमार पाख्रीनको प्रमुख आतिथ्यता र हर्कमान वाइबाको संयोजकत्वमा भएको कार्यक्रममा २ नं वडा खेलकुद विकास समितिका संयोजक चन्द्र सिं स्याङ्तान मार्फत खेलकुद सामाग्री वितरण गरेको हो ।
बस्तिपुर जेसिज मनहरी वर्ष २०२६ को सप्ताहव्यापी कार्यक्रम अन्तर्गतको सबै कार्यक्रमका सभाध्यक्ष वर्ष २०२६ का अध्यक्ष जेसि सुरज बर्तौला, मुल कार्यक्रम संयोजक जेसि सोवित वाइबा, सहमुल कार्यक्रम संयोजक जेसि सन्तोष ढकाल र कार्यक्रम सन्चालक वर्ष २०२६ का महासचिव जेसि अरुण बर्तौला रहेका छन् ।













