हेटौंडा, मंसिर १० गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–४ कर्रा क्षेत्रमा ट्रक र मोटरसाइकल एकापसमा दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने उनका श्रीमान् सामान्य घाइते भएका छन्।
बिहीबार साँझ करिब ५ः३५ बजे पूर्व–पश्चिम महेन्द्र राजमार्गअन्तर्गत कर्रा क्षेत्रमा उक्त दुर्घटना भएको हो।
प्रहरीका अनुसार पशुपतिनगरबाट कर्रातर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ५१४९ नम्बरको मोटरसाइकल आफ्नो घरतर्फ मोडिने क्रममा अनियन्त्रित भई सडकमा लडेको थियो। सोही क्रममा विपरीत दिशाबाट हेटौंडा बजारतर्फबाट कर्रातर्फ जाँदै गरेको ना.८ ख ११६१ नम्बरको खाली डिब्बा बोकेको ट्रकको पछाडिको बायाँ चक्काले मोटरसाइकलको पछाडि सवार महिलालाई किचेको थियो।
दुर्घटनामा मोटरसाइकलको पछाडि सवार हेटौंडा उपमहानगरपालिका–४ श्रमिक टोल निवासी अन्दाजी ६४ वर्षीया लक्ष्मीदेवी पाठक गम्भीर घाइते भएकी थिइन्। प्रहरीले तत्काल उद्धार गरी उपचारका लागि हेटौंडा अस्पताल पुर्याए पनि साँझ ५ः४५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
मोटरसाइकल चालक मृतकका श्रीमान् अन्दाजी ७० वर्षीय श्यामप्रसाद पाठकको दाहिने खुट्टामा सामान्य चोट लागेको छ। उनको हेटौंडा अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
दुर्घटनामा संलग्न ट्रक, ट्रक चालक हेटौंडा उपमहानगरपालिका–१३ पदमपोखरी निवासी अन्दाजी ४४ वर्षीय मनराज थोकरलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ। मोटरसाइकललाई भने इलाका प्रहरी कार्यालय सानोपोखराको नियन्त्रणमा राखिएको छ।
घटनास्थलमा ट्राफिक प्रहरीसहितको टोली खटिएर आवश्यक अनुसन्धान तथा दुर्घटनाको थप विवरण संकलन गरिरहेको प्रहरीले जनाएको छ।













