पिप्ले चोक, मंसिर ९ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–५ पिप्ले चोक नजिकै रहेको द डोर होटल (THE DOORS HOTEL) मा आगलागी हुँदा करिब ४३ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ।

हिजो राति करिब ११ः३० बजे होटलमा आगलागी भएको हो। आगलागीको खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय सानोपोखराबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। स्थानीयवासी, प्रहरी तथा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
होटलको भान्साकोठा (किचन) र हल कोठामा लागेको आगो मंसिर ९ गते राति करिब १२ः२० बजे पूर्ण रूपमा नियन्त्रणमा आएको थियो।
आगलागीको वास्तविक कारण खुल्न नसकेको भए पनि विद्युत्को तार सर्ट भएर आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको छ।
आगो निभाउने क्रममा होटल सञ्चालक हेटौंडा–५ निवासी २९ वर्षीय आशिष गौतम र दमकल कर्मचारी ३५ वर्षीय नवीन नेपालको हातमा सामान्य चोट लागेको छ। दुवै जनाको स्थानीय मेडिकलमा सामान्य उपचार गरिएको प्रहरीले जनाएको छ। घटनामा अन्य मानवीय क्षति भने भएको छैन।
आगलागीबाट होटलको भान्साकोठा र हलमा रहेका सम्पूर्ण सामग्री जलेर पूर्ण रूपमा नष्ट भएका छन्। होटल सञ्चालकका अनुसार कोठासहित करिब ४३ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ।













