वडाध्यक्ष नवीन सिग्देलको भनाइ : ‘दलीय व्यवस्थामा व्यक्ति होइन, संस्था प्रधान हुन्छ’

हेटौंडा, मंसिर ८ गते । हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देलले दलीय व्यवस्थामा व्यक्तिभन्दा संस्था, व्यक्तिगत स्वार्थभन्दा जनताको हित र कुराभन्दा कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन्।

सिग्देलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै दलीय व्यवस्थामा व्यक्ति पार्टीको प्रतिनिधि हुने भएकाले संस्थाको नीति, विचार, सिद्धान्त र सामूहिक उद्देश्यअनुसार भूमिका निर्वाह गर्नुपर्ने बताएका हुन्।

उनले राजनीतिक दलहरू आफ्नै चुनाव चिह्न र घोषणापत्रसहित निर्वाचनमा सहभागी हुने उल्लेख गर्दै उम्मेदवारहरू पार्टीको प्रतिनिधिका रूपमा जनतामाझ पुग्ने र निर्वाचित भएपछि घोषणापत्रमा गरिएका प्रतिबद्धता तथा जनतासँग गरेका वाचाअनुसार काम गर्नु उनीहरूको दायित्व भएको बताएका छन्।

दलीय व्यवस्थामा व्यक्ति संस्थाभन्दा माथि हुन नसक्ने उनको भनाइ छ। जनप्रतिनिधिले गरेका काम, व्यवहार र कार्यसम्पादनका आधारमा सम्बन्धित राजनीतिक दलको मूल्याङ्कन हुने भन्दै उनले जनप्रतिनिधि नेतृत्व गर्ने पात्र भए पनि उनीहरूको राजनीतिक मार्गदर्शन गर्ने संस्थागत आधार दल भएको उल्लेख गरेका छन्।

विकास सबैको साझा विषय भएकाले विकासका मुद्दालाई सम्बोधन गर्न सबै जनप्रतिनिधि क्रियाशील हुनुपर्नेमा पनि उनले जोड दिएका छन्। जनताका आवश्यकता, अपेक्षा र सरोकार नै राजनीतिक दलका मुख्य विषय हुनुपर्ने भन्दै जनताको हित र सेवाभन्दा माथि कुनै पनि व्यक्तिगत स्वार्थ हुन नसक्ने उनको धारणा छ।

आफूहरू नेकपा एमालेको सदस्य भएको उल्लेख गर्दै सिग्देलले पार्टीको पहिचान विचार, व्यवहार, कार्यशैली र जनताप्रतिको जिम्मेवारीबाट स्थापित हुनुपर्ने बताएका छन्। पार्टीमा आबद्ध जनप्रतिनिधिले आफ्ना काम र व्यवहारबाट उत्कृष्टता प्रदर्शन गर्नुपर्ने उनको भनाइ छ।

उनले आफ्नो धारणा सार्वजनिक गर्दै राजनीतिक तथा जनप्रतिनिधिको कार्यशैलीका लागि तीनवटा मूल मान्यतासमेत अघि सारेका छन्।
– व्यक्ति होइन, संस्था प्रधान !
– कुरा होइन, काम प्रधान !
– व्यक्तिगत स्वार्थ होइन, जनताको हित प्रधान !

सिग्देलको यो अभिव्यक्तिले दलीय राजनीतिमा संस्थागत मूल्य, सामूहिक जिम्मेवारी, जनउत्तरदायित्व र परिणाममुखी कार्यसम्पादनको महत्त्वलाई जोड दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.