रातोमाटे, मंसिर ८ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–१ रातोमाटेबाट प्रहरीले दुई थान भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुर, वडा प्रहरी कार्यालय हेटौंडा र प्रहरी चौकी भैंसेबाट खटिएको संयुक्त प्रहरी टोलीले कुटपिटमा संलग्न व्यक्तिहरूको खोजतलास तथा पक्राउ गर्ने क्रममा भरुवा बन्दुक फेला पारेको हो।
प्रहरीका अनुसार आज बिहान करिब ५ बजे रातोमाटे क्षेत्रमा खटिएको प्रहरी टोलीले बिहान करिब ६ बजे सोही स्थानका करिब ३५ वर्षीय सुमन भन्ने पञ्चबहादुर थिङको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा घरभित्र खाटमुनि बोराभित्र लुकाइछिपाइ राखिएको अवस्थामा चालु अवस्थाका दुई थान भरुवा बन्दुक फेला परेको प्रहरीले जनाएको छ।
बन्दुक बरामद भएपछि इलाका प्रहरी कार्यालय भीमफेदीबाट प्रहरी निरीक्षक सनम मल्लको कमाण्डमा सोको (SOCO) सहितको अनुसन्धान टोली घटनास्थलमा खटिएको थियो। उक्त टोलीले कानुनी प्रक्रिया पूरा गरी बरामदी मुचुल्का तयार पारेको थियो।
प्रहरीले बरामद गरिएका दुवै थान भरुवा बन्दुक र पक्राउ परेका पञ्चबहादुर थिङलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि बिहान ९ बजेर ५ मिनेटमा जिल्ला प्रहरी कार्यालय मकवानपुर ल्याएको जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।












