चित्लाङ, कार्तिक ३० गते । मकवानपुरको थाहा नगरपालिका–९ चित्लाङबाट प्रहरीले ६ किलो ४० ग्राम चरेशजस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। प्रहरीले लागूऔषध ओसार-पसारमा प्रयोग भएको एउटा एसयूभी गाडी समेत नियन्त्रणमा लिएको छ।

इलाका प्रहरी कार्यालय पालुङबाट प्रहरी निरीक्षक गोविन्द प्रसाद भण्डारीको कमाण्डमा खटिएको प्रहरी टोलीले राति करिब १ः४५ बजे चित्लाङस्थित इलाका प्रहरी कार्यालय चित्लाङको चेक पोइन्टमा सवारी साधन जाँच गर्ने क्रममा उक्त लागूऔषध बरामद गरेको हो।

गोर्खा, चितवनको सौराहा र हेटौँडा हुँदै काठमाडौँतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३५ च ४५६१ नम्बरको सेतो रङको Omoda Jaecoo 6T मोडलको एसयूभी गाडी रोकी प्रहरीले जाँच गरेको थियो। सो क्रममा गाडीको पछाडिपट्टि रहेको डिक्कीमा राखिएका लगेज ब्यागमध्ये कालो रङको ब्यागभित्र लत्ताकपडामा लुकाएर सेतो प्लास्टिकले र्यापिङ गरी लैजाँदै गरिएको अवस्थामा शंकास्पद पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार स्थानीय बासिन्दा तथा जनप्रतिनिधिको उपस्थितिमा कानुनी प्रक्रिया पूरा गरी खानतलासी गर्दा सेतो प्लास्टिकले बेरिएका पाँचवटा पोका फेला परेका थिए। नजिकैको पसलमा रहेको मान्यता प्राप्त तराजुमा तौल गर्दा प्लास्टिकसहित ६ किलो १४० ग्राम र प्लास्टिक हटाउँदा ६ किलो ४० ग्राम चरेशजस्तो देखिने पदार्थ रहेको पाइएको हो।
उक्त घटनामा प्रहरीले गाडी चालकसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–३ सञ्जीवनी चोक स्थायी घर भई हाल बनेपा नगरपालिका–८ तीनदोबाटो बस्ने ३३ वर्षीय हेविन श्रेष्ठ र चितवनको भरतपुर महानगरपालिका–११ कोल्टाँडी स्थायी घर भई हाल भरतपुर–२ क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्ले रहेका छन्। श्रेष्ठ गाडी चालक हुन् भने काफ्ले गाडीमा सवार थिइन्।
प्रहरीले बरामद भएको शंकास्पद लागूऔषध, गाडी र दुवै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।

















