हेटौंडा, कार्तिक २८ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१, चौकीटोलबाट सशस्त्र प्रहरीले पेस्तोल र गोलीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं. १४ गण हे.क्वा. मकवानपुर र सशस्त्र प्रहरी बल नेपालको इन्टेलिजेन्स ब्युरोबाट खटिएको संयुक्त टोलीले आज (शनिबार) दिउँसो करिब १२:१५ बजे शंकास्पद अवस्थामा रहेको अटो चेकजाँच गर्ने क्रममा दुई जनालाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरी नायब निरीक्षक (स.प्र.नि.) ऋषिराम पौडेलको कमाण्डमा परिचालित १० जनाको टोली र इन्टेलिजेन्स ब्युरोको संयुक्त टोलीले बा.प्र.०३–००१ ह ११८१ नम्बरको अटो रोकेर चेकजाँच गर्न खोज्दा अटो भाग्न खोजेपछि ब्युरोबाट खटिएको टोलीले एक राउण्ड हवाई फायर गरेको थियो।
त्यसक्रममा प्रहरीले ७.६५ एमएम क्यालिबरको एक थान सेमी अटोमेटिक पेस्तोल, सोही पेस्तोलमा लाग्ने एक थान म्यागजिन तथा पिँदीमा चोट लागेको ७.६५ एमएमको एक राउण्ड गोली बरामद गरेको छ।
नियन्त्रणमा लिइएका व्यक्तिहरूमा मकवानपुरको मनहरी गाउँपालिका–६, नयाँबस्ती निवासी २७ वर्षीय सुनबहादुर तामाङ र सोही स्थानका २२ वर्षीय विश्वराज तामाङ रहेका छन्।
सशस्त्र प्रहरीले दुवै व्यक्ति, बरामद हतियार तथा गोली र अटोलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा थप कारबाहीका लागि नं. १४ गण हे.क्वा. मकवानपुरमा राखेको जनाएको छ।

















