हेटौंडा, कार्तिक २७ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक इभी दुर्घटनाको कारण अध्ययन गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले पाँच सदस्यीय समिति गठन गरेको छ।

२०८३ साल कार्तिक २६ गते बिहान करिब ५:४५ बजे भीमफेदी–कुलेखानी–काठमाडौँ सडकखण्डअन्तर्गत चिसापानी गढीमा काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ज ०८८० नम्बरको यात्रुवाहक इभी अनियन्त्रित भई सडकबाट करिब ५०० मिटर तल भिरमा खस्दा १४ जनाको मृत्यु भएको थियो भने ६ जना घाइते भएका थिए।
उक्त दुःखद दुर्घटनाको कारण तथा सडक सुरक्षाको अवस्थाबारे अध्ययन गरी आवश्यक सुझावसहित प्रतिवेदन पेस गर्न मिति २०८३ कार्तिक २६ गते बसेको जिल्ला सुरक्षा समिति मकवानपुरको निर्णयअनुसार सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेलको संयोजकत्वमा समिति गठन गरिएको जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ।
गठित समितिलाई हेटौँडा–देउराली हुँदै काठमाडौँ आवतजावत गर्ने सडकखण्डमा यात्रुवाहक सवारीसाधन दुर्घटना हुनुका कारण पहिचान गर्ने, कार्तिक २६ गते चिसापानी गढीमा भएको इभी दुर्घटनाको वास्तविक कारण अध्ययन गर्ने तथा आगामी दिनमा यस्ता दुर्घटना हुन नदिन आवश्यक उपाय र सम्बन्धित निकायहरूको भूमिकाबारे सुझाव पेस गर्ने जिम्मेवारी दिइएको छ।
समितिले सडक सुरक्षासम्बन्धी जानकार, व्यावसायिक व्यक्तित्व, सरोकारवाला निकायका प्रतिनिधि तथा आवश्यक अन्य व्यक्तिहरूसँग अन्तरक्रिया, छलफल र भेटघाट गरी अध्ययन प्रतिवेदन तयार गर्नुपर्नेछ। समितिलाई सात दिनभित्र प्रतिवेदन पेस गर्न अनुरोध गरिएको छ।
समितिको संयोजकमा सहायक प्रमुख जिल्ला अधिकारी शेषकान्त पौडेल रहेका छन् भने सदस्यहरूमा बागमती प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका इन्जिनियर निरज महत, आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालय बागमती प्रदेशकी कानुन अधिकृत अनुसुया भट्टराई, जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक उमाशंकर प्रसाद गुप्ता र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रमेश बिष्ट रहेका छन्।
दुर्घटनाको कारण पहिचान गरी सडक सुरक्षा सुधारका लागि आवश्यक कदम चाल्न समितिले दिने प्रतिवेदनलाई महत्त्वपूर्ण रूपमा हेरिएको छ।


















