हेटौँडा, कार्तिक १८ गते । चुनावमा पटक–पटक पराजित भए पनि जनताको सेवाबाट आफू कहिल्यै पछि नहटेको बताएका सामाजिक अभियन्ता तथा ‘सेवा, सहयोग र आवाज’ संस्थाका अध्यक्ष विशालराज महतले अब हेटौँडा उपमहानगरपालिकाको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन्।
महतले सामाजिक सञ्जाल फेसबुकमा लामो स्टाटस लेख्दै चुनावी हारलाई एउटा परिणामका रूपमा व्याख्या गरेका छन्। पदमा नरहे पनि जनताको दुःख, समस्या र अन्यायविरुद्ध निरन्तर आवाज उठाउँदै आएको उनको भनाइ छ।
उनले हेटौँडा अस्पताल, जिल्ला प्रहरी कार्यालय, प्रशासन, नगरपालिका, मालपोतलगायतका सरकारी कार्यालयमा सर्वसाधारणका समस्या लिएर पुग्ने, बिरामीलाई सहयोग गर्ने, अन्यायमा परेकाहरूको पक्षमा आवाज उठाउने तथा अनियमितताविरुद्ध खबरदारी गर्ने कामलाई आफ्नो नियमित दैनिकी बनाएको उल्लेख गरेका छन्।
जनताको पक्षमा आवाज उठाउने क्रममा दबाब, धम्की, मुद्दा तथा हातपातसमेतको सामना गर्नुपरेको उनले बताएका छन्। तर जनताको पीडा देखेर मौन बस्न नसकेको उल्लेख गर्दै उनले समाजसेवा पद प्राप्त गर्ने माध्यम नभई जनताप्रतिको जिम्मेवारी भएको बताएका छन्।
महतले अब समस्या उठाउने र जनताको गुनासो सुन्ने काममा मात्र सीमित नरही निर्णय गर्ने तहमा पुगेर प्रत्यक्ष परिणाम दिने चाहना व्यक्त गरेका छन्। उनले हेटौँडाको विकास र समृद्धिका लागि युवा, स्वास्थ्य, शिक्षा, रोजगारी, सार्वजनिक जग्गा संरक्षण तथा उपयोग, वनजङ्गलको सदुपयोग, पर्यटन प्रवर्द्धन, राजस्व चुहावट नियन्त्रण, करमा सहुलियत, न्यायपूर्ण बजेट वितरण र व्यवस्थित नगर निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
त्यसैगरी युवालाई दुर्व्यसनबाट जोगाउँदै उत्पादन र रोजगारीमा जोड्ने, नगरवासीका आधारभूत आवश्यकता पूरा गर्ने तथा आफ्नै नगरमा सम्मानपूर्वक बाँच्न पाउने वातावरण निर्माण गर्ने आफ्नो सपना रहेको उनको भनाइ छ।
आफूसँग पदमा रहेर काम गरेको अनुभव नभए पनि जनताका समस्या बुझ्ने अनुभव, चुनौतीसँग जुध्ने आँट, समन्वय गर्ने क्षमता, इच्छाशक्ति र स्पष्ट योजना रहेको महतले दाबी गरेका छन्। आफ्नो विगतका काम, संघर्ष र कमजोरीको मूल्याङ्कन गर्ने अधिकार जनतामै रहेको उनले स्वीकार गरेका छन्।
फेसबुक स्टाटसमार्फत हेटौँडावासी आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा साथीहरूलाई सम्बोधन गर्दै महतले आफूलाई हेटौँडा उपमहानगरपालिकाको मेयरको जिम्मेवारीका लागि कुन आधारमा मूल्याङ्कन गर्नुहुन्छ भन्दै प्रश्नसमेत गरेका छन्। उनले जनताको साथ, विश्वास, सुझाव र मतको अपेक्षा गरेका छन्।
महतको पछिल्लो अभिव्यक्तिले आगामी स्थानीय तह निर्वाचनमा हेटौँडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दिने उनको आकाङ्क्षालाई संकेत गरेको छ। यद्यपि उनले औपचारिक उम्मेदवारी घोषणा भने गरेका छैनन्।
उनले हेटौँडाको भविष्य कुनै एक व्यक्तिको सपना नभई सबै नगरवासीको साझा जिम्मेवारी भएको उल्लेख गर्दै आफ्नो यात्रा पद प्राप्तिका लागि मात्र नभई जनताको पीडा कम गर्ने र नगरमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यबाट प्रेरित रहेको बताएका छन्।
‘जनताको पक्षमा न्यायको आवाज आज पनि, भोलि पनि’ भन्ने प्रतिबद्धतासहित उनले आफ्नो सामाजिक तथा राजनीतिक यात्रालाई निरन्तरता दिने सन्देश दिएका छन्।

















