नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रश्मि शिल्पकारको उम्मेदवारी घोषणा, सुशासन र पारदर्शिता मुख्य एजेन्डा

भक्तपुर, मंसिर १२ गते । नेपाल जेसीजको सन् २०२७ का लागि राष्ट्रिय अध्यक्ष पदमा भक्तपुर लेडी जेसीजकी रश्मि शिल्पकारले उम्मेदवारी घोषणा गरेकी छन्। उनले शनिबार भक्तपुरमा पत्रकार सम्मेलन आयोजना गरी आफ्नो उम्मेदवारी सार्वजनिक गर्दै संस्थागत सुशासन, पारदर्शिता र जेसीजभित्रका अनियमितता अन्त्यलाई प्रमुख प्राथमिकतामा राख्ने बताएकी हुन्।

सन् २००९ देखि जेसीज अभियानमा सक्रिय शिल्पकारले १७ वर्षको संस्थागत अनुभव र विभिन्न तहमा नेतृत्वदायी जिम्मेवारी सम्हालेको आधारमा राष्ट्रिय अध्यक्ष पदमा उम्मेदवारी प्रस्तुत गरेकी हुन्। जेसीजलाई थप व्यवस्थित, पारदर्शी र जवाफदेही संस्थाका रूपमा विकास गर्ने आफ्नो लक्ष्य रहेको उनको भनाइ छ।

जेसीज यात्राका क्रममा सदस्यदेखि शाखा अध्यक्षसम्मको जिम्मेवारी निर्वाह गरिसकेकी शिल्पकारले एरिया ‘सी’ ट्रेनिङ कोअर्डिनेटर, नेसनल लेडी एकेडेमी डाइरेक्टर, नेसनल भाइस प्रेसिडेन्ट (एनभीपी) तथा नेसनल एक्जुकेटिभ भाइस प्रेसिडेन्ट (एनईभीपी) का रूपमा समेत काम गरिसकेकी छन्। उनी नेपाल जेसीजकी राष्ट्रिय प्रशिक्षकसमेत हुन्।

नेतृत्व विकास र प्रशिक्षणका क्षेत्रमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव हासिल गरेकी शिल्पकारले सिंगापुर र जापानमा आयोजित जेसीआईका विभिन्न कार्यक्रम तथा प्रशिक्षणमा सहभागिता जनाइसकेकी छन्।

जेसीज अभियानसँगै स्वास्थ्य, शिक्षा तथा व्यवसाय क्षेत्रमा समेत सक्रिय शिल्पकार भक्तपुर हार्ट एन्ड डायबेटिक सेन्टरकी प्रमोटर, डाइटिसियन तथा मार्केटिङ म्यानेजर हुन्। उनी एलिभेट एकेडेमीकी प्रबन्ध निर्देशक, केटाकेटी ए कम्प्लिट किड्स फेसन कलेक्सनकी सञ्चालक तथा भिजन नेपालको कार्यकारी बोर्ड सदस्यका रूपमा पनि आबद्ध छिन्। यसका साथै उनले नेपाल लाइफ इन्स्योरेन्समा वरिष्ठ एजेन्सी म्यानेजरका रूपमा समेत काम गरिसकेकी छन्।

३४ वर्षदेखि नेतृत्व विकास र महिला सशक्तीकरणका क्षेत्रमा क्रियाशील भक्तपुर लेडी जेसीजले शिल्पकारको उम्मेदवारीलाई महिला नेतृत्वको राष्ट्रिय प्रतिनिधित्वका रूपमा लिएको छ। उनको उम्मेदवारीले महिला नेतृत्वलाई राष्ट्रिय स्तरमा थप स्थापित गर्नुका साथै भक्तपुर लेडी जेसीजको संस्थागत पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

नेपाल जेसीजको ५३औँ राष्ट्रिय महाधिवेशन आगामी पुस ८ देखि १० गतेसम्म झापाको भद्रपुरमा आयोजना हुँदैछ। भद्रपुर जेसीजको आतिथ्यतामा भद्रपुर नगरपालिका–८ स्थित मेची रंगशालामा सञ्चालन हुने महाधिवेशनले सन् २०२७ का लागि नयाँ राष्ट्रिय नेतृत्व चयन गर्नेछ।

पत्रकार सम्मेलनमा भक्तपुर जेसीजका अध्यक्ष रेमण कोजू, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णमुरारी न्यौपानेलगायतले महिला नेतृत्वको आवश्यकता र जेसीज अभियानमा महिलाको नेतृत्वदायी भूमिकाबारे धारणा राखेका थिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ताजा समाचार

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.