विराटनगर, मंसिर ९ गते । युवा नेतृत्व विकास, व्यक्तित्व निर्माण तथा सामाजिक रूपान्तरणको क्षेत्रमा क्रियाशील विराटनगर जेसीजले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ। संस्थाको सचिवालयमा सम्पन्न निर्वाचनबाट रञ्जन कुमार शाही अध्यक्षमा निर्वाचित भएका हुन्।
शाहीको नेतृत्वमा चयन भएको नयाँ कार्यसमितिमा वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा प्रवेश दुलाल निर्वाचित भएका छन् भने कार्यकारिणी उपाध्यक्षमा सिर्जना थापा र गौरव कर्ण चयन भएका छन्। त्यसैगरी तालिम निर्देशकमा सबिन अधिकारी चयन भएका छन्।
निर्वाचनबाट उपाध्यक्ष पदमा हेमन्त रजक, रोशनी प्रधान, पंकज मेहता र प्रविण दाहाल निर्वाचित भएका छन्। त्यस्तै जनसम्पर्क अधिकारीमा निर्मल सापकोटा चयन भएका छन्। निर्वाचन आयुक्त प्रीतेशराज दाहालले निर्वाचनको अन्तिम परिणाम सार्वजनिक गरेका हुन्।
नवनिर्वाचित अध्यक्ष शाहीले आफ्नो नेतृत्व कुनै एक व्यक्ति वा समूहमा सीमित नभई सम्पूर्ण सदस्यहरूको साझा नेतृत्व हुने बताएका छन्। संस्थामा आबद्ध सबै सदस्यको क्षमता, अनुभव र सिर्जनात्मक विचारलाई समेट्दै सामूहिक सहकार्यका माध्यमबाट संस्थाको गरिमा र प्रतिष्ठा थप उचाइमा पुर्याउने उनको प्रतिबद्धता छ।
शाहीले युवा नेतृत्व विकास, प्रभावकारी तालिम तथा व्यक्तित्व अभिवृद्धि, सामाजिक सेवा र संस्थागत सुदृढीकरणलाई आफ्नो कार्यकालका मुख्य प्राथमिकताका रूपमा अघि सारेका छन्। सदस्यहरूको सक्रिय सहभागिता, आपसी एकता र परिणाममुखी कार्यशैलीमार्फत संस्थालाई थप गतिशील बनाउने उनको लक्ष्य रहेको छ।
नयाँ कार्यसमितिका लागि संस्थाको गौरवशाली विरासतलाई निरन्तरता दिँदै बदलिँदो समय र युवाका आवश्यकताअनुसार रचनात्मक कार्यक्रम सञ्चालन गर्नु प्रमुख अवसर र चुनौतीका रूपमा देखिएको छ।
नयाँ नेतृत्व चयनसँगै विराटनगर जेसीजले आगामी कार्यकालमा युवा सशक्तीकरण, नेतृत्व क्षमता विकास, सामाजिक उत्तरदायित्व तथा समुदायमुखी अभियानलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।













