मकवानपुरको भीमफेदीमा बसको ठक्करबाट ६३ वर्षीया महिलाको घटनास्थलमै मृत्यु

ईपा देउराली, कार्तिक १२ गते । मकवानपुरको भीमफेदी गाउँपालिका–८, ईपा देउरालीमा बसको ठक्करबाट एक महिलाको घटनास्थलमै मृत्यु भएको छ।

आज बिहान करिब ७:३० बजे ईपा देउराली–कोगटे–भीमफेदी–हेटौँडा भित्री सडकखण्डमा उक्त दुर्घटना भएको हो।

प्राप्त विवरणअनुसार, ईपाबाट हेटौँडातर्फ आउँदै गरेको बा २ ख ९४३० नम्बरको बसमा सवार भई आएकी भीमफेदी गाउँपालिका–८, ईपा निवासी करिब ६३ वर्षीया लीला देवी खत्री बसबाट ओर्लिएपछि बसको अगाडिबाट बाटो काट्ने क्रममा सोही बसको ठक्करमा परेकी थिइन्। ठक्करबाट उनको टाउकोमा चोट लागेको र घटनास्थलमै मृत्यु भएको जनाइएको छ।

दुर्घटनाको खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय भीमफेदी र इलाका प्रहरी कार्यालय ठिङ्गनबाट ट्राफिक प्रहरीसहित २० जनाको प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी टोली बिहान ८:५५ बजे घटनास्थलमा पुगेर घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाएको थियो।

दुर्घटनामा संलग्न बस घटनास्थलमै रहेको र बस चालक भीमफेदी गाउँपालिका–७, कोगटे निवासी करिब ४३ वर्षीय राजु आचार्य प्रहरीको सम्पर्कमा रहेको विवरणमा उल्लेख छ।

हाल घटनास्थल मुचुल्का तयार गर्ने कार्य सुरु गरिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.