काठमाडौँ, कार्तिक १२ गते । बंगालको खाडीमा विकसित भएको ‘अर्नब’ चक्रवातका कारण नेपालमा पर्न सक्ने मौसमी प्रभावलाई मध्यनजर गर्दै विपद् प्रतिकार्य कमाण्ड पोष्टको बैठक बसेको छ। बैठकमा चक्रवातको पछिल्लो अवस्था, सम्भावित मौसमजन्य विपद् र त्यसबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण तथा प्रतिकार्यको तयारीबारे छलफल गरिएको छ।

बैठकमा सम्बन्धित कार्यालयका प्रतिनिधिहरूले मौसममा आउन सक्ने परिवर्तन, बाढीको सम्भावना, पहिरोको जोखिम तथा सडक अवरुद्ध भएमा तत्काल सञ्चालनमा ल्याउन गरिएका तयारीबारे जानकारी गराएका थिए।
नेपाल मौसम विज्ञान विभागका प्रतिनिधि तथा प्रवक्ता विभूति पोखरेलले ‘अर्नब’ चक्रवात नेपाल प्रवेश गर्दा कमजोर भइसकेको भए पनि त्यसको प्रभावले देशका विभिन्न स्थानमा वर्षा, हिमपात तथा सामान्य हावाहुरीको सम्भावना रहेको जानकारी दिएको छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै बैठकले जोखिममा रहेका जिल्लाको अवस्थाबारे निरन्तर सूचना संकलन तथा निगरानी गर्न, सर्वसाधारणलाई समयमै सुसूचित गराउन र आवश्यक पूर्वतयारी गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ। साथै, परिस्थिति प्रतिकूल बनेमा तत्काल परिचालित हुन सक्ने गरी जनशक्ति तथा आवश्यक स्रोतसाधन तयारी अवस्थामा राख्न समेत निर्देशन दिइएको छ।
मौसममा हुन सक्ने परिवर्तनबाट जनधनको क्षति न्यूनीकरण गर्न सम्बन्धित निकायबीच समन्वय र सूचना आदानप्रदानलाई प्रभावकारी बनाउने तथा आवश्यकताअनुसार तत्काल प्रतिकार्यमा जुट्ने तयारी गरिएको छ।

















