सामरी, कार्तिक २ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१ सामरीस्थित हेटौंडा–भैंसे सडकखण्डमा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१० बुद्धचोक निवासी ४२ वर्षीय विनोद लामा रहेका छन्। उनको पहिचान श्रीमती सरस्वती रुम्बाले गरेको विवरणमा उल्लेख छ।
प्राप्त विवरणअनुसार, आज अपराह्न करिब ४ बजेर ५० मिनेटको समयमा हेटौंडाबाट भैंसेतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०३२ च ०१४१ नम्बरको खुर्सानी लोड गरिएको पिकअप गाडी र विपरीत दिशाबाट आउँदै गरेको बा ४७ प ८४६१ नम्बरको मोटरसाइकल सामरीमा एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका थिए। उनलाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकोमा चिकित्सकले अपराह्न ५ बजेर १० मिनेटमा मृत घोषणा गरेका थिए।
दुर्घटनापछि मृतकको शव हेटौंडा अस्पतालमै राखिएको छ। दुर्घटनामा संलग्न दुवै सवारीसाधन तथा पिकअप चालकलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको प्राप्त विवरणमा उल्लेख छ।
दुर्घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ कि छैन भन्ने विषयमा भने थप आधिकारिक विवरण प्राप्त हुन बाँकी छ।

















