साइबर ठगी नियन्त्रण गर्न २४ घण्टे एकीकृत प्रतिकार्य केन्द्र सुरु, ठगी भएको ६० मिनेटभित्रै एक्सन लिने सरकारको तयारी

काठमाडौं, कार्तिक २१ गते । साइबर ठगीका घटना बढ्दै जाँदा सर्वसाधारणको आर्थिक सुरक्षालाई ध्यानमा राखेर नेपाल प्रहरीले २४ घण्टे एकीकृत साइबर अपराध प्रतिकार्य केन्द्र सञ्चालनमा ल्याएको छ। फोन कल, एसएमएस तथा विभिन्न डिजिटल माध्यमबाट हुने ठगी नियन्त्रण गर्न नेपाल प्रहरी, नेपाल राष्ट्र बैंक, बैंकिङ क्षेत्र र दूरसञ्चार क्षेत्रका टोलीलाई एउटै संयन्त्रमा आबद्ध गरी केन्द्र सुरु गरिएको हो।

गृहमन्त्री सुदन गुरुङले सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेको जनहितको सन्देशअनुसार उक्त केन्द्रले साइबर ठगीका घटनामा तत्काल प्रतिक्रिया दिने र पीडितको रकम सुरक्षित गर्ने उद्देश्य राखेको छ।

गृहमन्त्री गुरुङका अनुसार अब साइबर ठगीसम्बन्धी उजुरीमा कागजी प्रक्रियाका कारण हुने ढिलाइ कम गर्दै ‘रियल टाइम लेजर ट्र्याकिङ’ प्रणालीमार्फत रकमको कारोबार निगरानी गरिनेछ। साथै, आवश्यकताअनुसार शंकास्पद बैंक खाता तथा सिमकार्ड तत्काल ब्लक गर्ने व्यवस्था मिलाइनेछ।

उनले ठगी भएको ६० मिनेटभित्रै आवश्यक कारबाही अघि बढाउने लक्ष्यसहित केन्द्र सञ्चालनमा ल्याइएको उल्लेख गरेका छन्। यसले डिजिटल माध्यमबाट हुने आर्थिक अपराध नियन्त्रण गर्न तथा सर्वसाधारणको जीवनभरको कमाइ सुरक्षित राख्न महत्वपूर्ण भूमिका खेल्ने सरकारको अपेक्षा छ।

गृहमन्त्री गुरुङले साइबर ठगीमा परेमा वा शंकास्पद गतिविधि देखिएमा तत्काल १२४७ नम्बरमा सम्पर्क गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

डिजिटल प्रविधिको बढ्दो प्रयोगसँगै अनलाइन ठगी, नक्कली फोन कल, फिसिङ लिंक तथा बैंकिङ विवरण चोरीजस्ता घटना बढिरहेका बेला एकीकृत प्रतिकार्य केन्द्रको सुरुवातलाई साइबर अपराध नियन्त्रणतर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।

सरकारले डिजिटल कारोबार गर्दा सावधानी अपनाउन, अपरिचित व्यक्तिले पठाएका लिंक नखोल्न तथा ओटीपी, पासवर्ड र बैंकिङ विवरण कसैलाई पनि उपलब्ध नगराउन सर्वसाधारणलाई सचेत रहन आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.