हेटौँडा, कार्तिक २१ गते । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१७ अंगारेश्वरस्थित धरान–चतारा सडकखण्डमा पिकअप बोलेरो र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक युवकको मृत्यु भएको छ।

शुक्रबार राति करिब ८ः४५ बजेको समयमा भएको दुर्घटनामा मोटरसाइकल चालक हेटौंडा उपमहानगरपालिका–१७ हटिया निवासी अन्दाजी २७ वर्षीय सुदिप पाण्डेको मृत्यु भएको हो।
प्रहरीका अनुसार हेटौंडाबाट सिन्धुलीतर्फ तरकारी लिएर जाँदै गरेको बा.प्र.०१–०२८ च १७४७ नम्बरको पिकअप बोलेरो र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश ३–०३–००१ प ६४५९ नम्बरको मोटरसाइकल सडकको बीच भागमा एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा मोटरसाइकल चालक पाण्डेको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए। दुर्घटना लगत्तै अ.प्र.पोष्ट हटियाबाट ट्राफिकसहित खटिएको प्रहरी टोलीले उनको उद्धार गरी उपचारका लागि हेटौंडास्थित सीएमसी चुरेहिल अस्पताल पुर्याएको थियो।
उपचारका क्रममा चिकित्सकले राति ९ः३५ बजे पाण्डेलाई मृत घोषणा गरेका थिए। उनको शव थप कानुनी प्रक्रिया तथा पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ।
दुर्घटनामा संलग्न पिकअप बोलेरो र चालक सिन्धुलीको कमलामाई नगरपालिका–३ निवासी अन्दाजी ४८ वर्षीय रमेश तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाएको जनाएको छ।

















