हेटौंडा, मंसिर, २ गते । सवारी दुर्घटना न्यूनीकरण तथा यात्रुको सुरक्षालाई मध्यनजर गर्दै मकवानपुर प्रहरीले सवारी साधनमाथि गरेको चेकजाँचका क्रममा क्षमताभन्दा बढी सिट जडान गरिएका तीनवटा विद्युतीय सवारीसाधन (EV) सहित पाँचवटा सवारीसाधनलाई कारबाही गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुर तथा मातहतका प्रहरी कार्यालयबाट ट्राफिक प्रहरीसहित खटिएको टोलीले आज जिल्लाका विभिन्न चेक प्वाइन्टमा सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा सवारी दर्ता किताबमा उल्लेखित क्षमताभन्दा बढी सिट जडान गरी सञ्चालन गरिएका तीनवटा EV गाडी र आवश्यक कागजातबिना सञ्चालन गरिएका दुईवटा सुमो तथा बोलेरो फेला पारेको हो।

प्रहरीका अनुसार १४ सिट क्षमता भएका तीनवटा EV गाडीमा थप चार–चारवटा सिट जडान गरी सञ्चालन गरिएको पाइएको थियो। यसरी सवारीको स्वीकृत क्षमताभन्दा बढी सिट राखी सञ्चालन गर्नु सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा ४३ को उपदफा (१) विपरीत भएकाले सोही ऐनको दफा १९४ को उपदफा (२) (ख) बमोजिम प्रत्येक गाडीलाई १० हजार रुपैयाँका दरले जम्मा ३० हजार रुपैयाँ जरिवाना गरिएको छ।

त्यसैगरी, आवश्यक कागजातबिना सञ्चालन गरिएका दुईवटा सवारीसाधनलाई जनही ७ हजार ५०० रुपैयाँका दरले जम्मा १५ हजार रुपैयाँ जरिवाना गरिएको प्रहरीले जनाएको छ। पाँचवटा सवारीसाधनबाट कुल ४५ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ।
कारबाहीका क्रममा थप जडान गरिएका सिटहरू स्थानीय सञ्चारकर्मीको रोहबरमा निकालिएको प्रहरीले जनाएको छ।

यसैगरी, इलाका प्रहरी कार्यालय भीमफेदी मकवानपुरबाट ट्राफिक प्रहरीसहित खटिएको टोलीले प्रदेश सरकारले तोकेको समय र मार्ग परिवर्तन गरी अन्य बाटो प्रयोग गर्दै हेटौँडातर्फ आएका २२ वटा EV तथा सुमो गाडीलाई समेत आवश्यक ट्राफिक कारबाही गरी छाडेको छ।
प्रहरीले सवारी साधनको स्वीकृत क्षमताभन्दा बढी यात्रु बोक्ने तथा आवश्यक कागजातबिना सवारी सञ्चालन गर्ने कार्यले दुर्घटनाको जोखिम बढाउने भएकाले नियमविपरीत सवारी सञ्चालन नगर्न चालक तथा सवारीधनीलाई आग्रह गरेको छ।
कारबाहीमा परेका सवारीसाधनका नम्बरहरू:
१. बा.प्र.०८-००२ ज ६९४७
२. बा.प्र.०१-००२ ज ७८३०
३. म.प्र.०४-००१ ज ०१३२
४. ना.१ ज. ६७१०
५. अनटेस्ट योद्धा पिकअप गाडी
थप सिट जडान गरिएका नियन्त्रणमा लिइएका EV गाडीहरू:
१. बा.प्र.०३-००१ ज १०३४
२. बा.प्र.०६-००२ ज ०५४६
३. बा.५ ख ६०८९
प्रहरीका अनुसार नियन्त्रणमा लिइएका थप सिट जडान गरिएका तीनवटा EV गाडीमाथि आवश्यक कारबाही प्रक्रिया पूरा गरी छाडिनेछ।













