हिजो राक्सिराङ–३ मा आगलागी पीडित चेपाङ परिवारलाई नयाँ घर हस्तान्तरण

हेटौडा,बैशाख ५ गते । मकवानपुरको राक्सिराङ गाउँपालिका–३, लावती निवासी कान्छी माया चेपाङको घर आगलागीबाट नष्ट भएपछि श्रमसस्कृती पार्टीको पहलमा निर्माण गरिएको नयाँ घर हिजो एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ।

राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि मल्लले गरिब तथा विपन्न वर्गको पक्षमा गरिने कामलाई पार्टीगत रूपमा नहेर्नुपर्ने बताएका छन्। उनले मानवताको आधारमा गरिने सहयोग नै सबैभन्दा ठूलो राजनीति भएको उल्लेख गरेका छन्।

कार्यक्रममा अध्यक्ष मल्लले घर निर्माणमा सहयोग पुर्‍याउने सबै सहयोगी तथा श्रमदान गर्ने व्यक्तिहरूलाई धन्यवाद ज्ञापन गरेका छन्। कार्यक्रमको अध्यक्षता श्रमसस्कृती पार्टी राक्सिराङका अध्यक्ष मान बहादुर मोक्तानले गरेका छन्।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू मन्दिरा मोक्तान र सुन्दर लामा, जिल्ला अध्यक्ष युनेस लामा, राक्सिराङ–३ का वडा अध्यक्ष उत्तम वाइबा, जिल्ला उपाध्यक्ष ध्रुवप्रसाद दाहाल, जिल्ला प्रवक्ता प्रकाश ब्लोन तामाङ, घर निर्माण समिति संयोजक तथा जिल्ला सहसचिव रुद्र मुक्तान, समाजसेवी बाबूलाल स्याङतान, रवीन्द्र चेपाङ तथा जिल्ला सदस्य सीताराम चेपाङ लगायतको उपस्थिति रहेको छ।

आगलागीबाट घर गुमाएका चेपाङ परिवारका तीन सदस्यका लागि करिब एक महिनाको अवधिमा दुई कोठे घर निर्माण सम्पन्न गरिएको छ। घर निर्माणमा करिब २ लाख ५० हजार रुपैयाँ खर्च भएको बताइएको छ।

यसअघि पनि श्रमसस्कृती पार्टीले उक्त पीडित परिवारलाई खाद्य सामग्री सहयोग गरेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.