हेटौँडा,बैशाख ११ गते । बागमती प्रदेश सरकार अन्तर्गतका सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयलाई कर्मचारीहरूको मासिक हाजिरी विवरण अनिवार्य रूपमा समयमै पेश गर्न निर्देशन दिइएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०८३ वैशाख ११ गते जारी गरेको पत्र मार्फत प्रत्येक महिना समाप्त भएको तीन कार्यदिनभित्र हाजिरी विवरण बुझाउन कडाइ गरिएको हो।
कार्यालयले कर्मचारीहरूको उपस्थितिलाई व्यवस्थित र पारदर्शी बनाउन विद्युतीय हाजिरी प्रणालीमा अनिवार्य रूपमा आबद्ध हुनुपर्ने जनाएको छ। साथै, कार्यालयले आएको, गएको, काज, बिदा लगायतका सम्पूर्ण विवरण सोही प्रणालीमार्फत नियमित रूपमा अद्यावधिक गर्न पनि आग्रह गरेको छ।
निर्देशनअनुसार प्रत्येक महिनाको अन्त्यमा हाजिरी विवरण प्रिन्ट गरी प्रमाणित अभिलेख तयार पार्नुपर्नेछ। सो प्रमाणित विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा समयमै पठाउन सम्बन्धित सबै निकायलाई निर्देशन दिइएको छ।
यस कदमले कर्मचारीहरूको उपस्थिति व्यवस्थापनलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने अपेक्षा गरिएको छ।














