हेटौंडा,जेठ २० गते। किङ कोब्रोको उद्धार गर्ने क्रममा सर्पदंशको शिकार भएका मकवानपुरका सर्प उद्धारकर्ता राजेश थापा (गरिब) को स्वास्थ्य अवस्थामा सुधार आएको छ। चिकित्सकले उनलाई सघन उपचार कक्ष (आइसीयू) बाट मेडिसिन वार्डमा सार्न सकिने जनाएको हेटौंडा अस्पतालले जनाएको छ।
मंगलबार बकैया गाउँपालिका र बागमती गाउँपालिकाको सिमाना क्षेत्रमा फेला परेको किङ कोब्रोको उद्धार गर्ने क्रममा थापालाई सर्पले टोकेको थियो। त्यसपछि उनलाई तत्काल उपचारका लागि हेटौंडा अस्पताल पुर्याई आइसीयूमा राखेर उपचार सुरु गरिएको थियो।
अस्पताल स्रोतका अनुसार थापालाई प्रारम्भिक उपचारका क्रममा ४ देखि ५ वटा स्नेक एन्टी भेनम दिइएको थियो। मंगलबार राति करिब १०ः३० बजेदेखि निरन्तर आइसीयूमा राखेर उपचार गरिएकोमा स्वास्थ्य अवस्था क्रमिक रूपमा सुधार हुँदै गएको छ।
चिकित्सकहरूले केही घण्टाअघि नै उनलाई मेडिसिन वार्डमा सार्न मिल्ने निष्कर्ष निकाले पनि वार्डमा बेड उपलब्ध नभएका कारण हालसम्म आइसीयूमै राखेर उपचार जारी राखिएको छ।
हालसम्म उनलाई १२ वटा स्नेक एन्टी भेनम दिइसकिएको छ भने स्वास्थ्य अवस्था सामान्य र खतरा मुक्त रहेको अस्पताल स्रोतले जनाएको छ।
विश्वकै सबैभन्दा लामो विषालु सर्पका रूपमा परिचित किङ कोब्रोको उद्धारका क्रममा घाइते भएका थापाको स्वास्थ्यमा सुधार आएको खबरले उनका शुभेच्छुक, संरक्षणकर्मी तथा स्थानीयवासीलाई राहत मिलेको छ।














