हेटौडा, असार १३ गते। स्वास्थ्य सरोकार संस्थाको आयोजना तथा हिमालयन राइडर्स सोसाइटी मकवानपुरको सहकार्यमा अन्तरविद्यालयस्तरीय साइकल रेस प्रतियोगिता शनिबार सम्पन्न भएको छ । प्रतियोगितामा विभिन्न विद्यालयका विद्यार्थी राइडरहरूको उत्साहजनक सहभागिता रहेको थियो ।
छात्रातर्फ आधुनिक राष्ट्रिय माविकी एनोरा तिवारी प्रथम, जीएस निकेतन माविकी श्रीयान्सी कर्माचार्य द्वितीय तथा ब्रम्हदिक एकेडेमीकी स्पन्धन अधिकारी तृतीय भएकी छन् । त्यस्तै जीएस निकेतनकी आर्शु शाक्य र विद्यादेवी आचार्यले सान्त्वना स्थान हासिल गरेका छन् ।
छात्रतर्फ आधुनिक राष्ट्रिय माविका आयुष दास प्रथम, नवोदय शिशुसदनका सोहन अग्रवाल द्वितीय तथा अक्रिम श्रेष्ठ तृतीय भएका छन् । नवोदय शिशुसदनका ओम सेढाईं र कमाने एकेडेमीका विश्वास अधिकारी सान्त्वना भएका छन् ।
प्रतियोगितामा प्रथम हुनेले ५ हजार रुपैयाँ, द्वितीयले ४ हजार, तृतीयले ३ हजार तथा चौथो र सान्त्वना हुने प्रतियोगीले क्रमशः २ हजार र १ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।
विजेता विद्यार्थी राइडरलाई हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का अध्यक्ष सबिन न्यौपाने, स्वास्थ्य सरोकार कार्यक्रम संयोजक राजेन्द्र थापा, नेपाल ओलम्पिक कमिटीका सदस्यलगायतले पुरस्कार वितरण गरेका थिए ।
प्रतियोगिताको संयोजन हिमालयन राइडर्स सोसाइटीका अशोक जोशी, प्रकाशानन्द बैद्य, सुवर्णमान प्रधान, दुर्गाप्रसाद लामिछाने, लक्ष्मीचरण श्रेष्ठ, विक्रम राई, अनिता अधिकारी, सीता श्रेष्ठ, आशिष थापामगर र जय थापामगरलगायतले गरेका थिए ।
सोसाइटीका अध्यक्ष राजु थापामगरका अनुसार हिमालयन मोटर्सका सञ्चालक सम्झौता सापकोटाको समन्वयमा प्रतियोगिता आयोजना गरिएको हो । सोसाइटीले कोरा च्यालेन्ज, पर्यटन प्रवर्द्धन राइड, विद्यालयस्तरीय प्रतियोगिता तथा ५० वर्षमाथिका भेट्रान्स च्यालेन्ज सञ्चालन गर्दै आएको छ । साथै मेची–महाकाली तथा उत्तर–दक्षिण अभियानसँगै देशका विभिन्न जिल्लामा हुने साइकल प्रतियोगितामा पनि सक्रिय सहभागिता जनाउँदै आएको छ ।














