हेटौंडा, मंसिर ४ गते । हेटौडा उपमहानगरपालिका–७ का सामाजिक अभियन्ता सफल अधिकारीले सिवम सिमेन्ट उद्योगबाट उत्पन्न भइरहेका समस्या केवल धुलो प्रदूषणमा सीमित नभई स्वास्थ्य, वातावरण, शिक्षा र भविष्यसँग सम्बन्धित गम्भीर संकट बनेको बताएका छन्। उनले आफ्नो सामाजिक सञ्जालमार्फत दीर्घकालीन प्रविधिगत, कानुनी तथा सामुदायिक हस्तक्षेप बिना यो समस्या “स्थायी, घातक र अनियन्त्रित रूपमा” फैलिन सक्ने चेतावनी दिएका छन्।
अधिकारीले उद्योगले आवश्यक प्रविधि नअपनाउँदा स्थानीय बस्ती, विद्यालय, कृषि क्षेत्र र श्रमिकका स्वास्थ्यमा गम्भीर असर परेको उल्लेख गर्दै समस्याको समाधानका लागि चारवटा ठोस प्रविधिगत उपाय सुझाएका छन्। उनका अनुसार “Bag House Filter” वा “Electrostatic Precipitator (ESP)” जडान गरेर ९०–९८ प्रतिशत धुलो नियन्त्रण गर्न सकिने हुँदा उद्योगलाई यस्तो प्रविधि अनिवार्य रूपमा स्थापना गराउनुपर्नेछ। त्यसैगरी कच्चा पदार्थ तथा क्लिङ्कर ढुवानीका लागि “Closed Transportation System” अपनाउनुपर्ने, उद्योग वरिपरि ५०–१०० मिटरको हरियो क्षेत्र विकास गर्नुपर्ने तथा खानी उत्खनन वैज्ञानिक भू–सर्भे बिना नगर्नुपर्ने सुझाव उनले दिएका छन्।
कानुनी पक्षमा अधिकारीले Environment Protection Act, 2076 ले उल्लंघन गर्ने उद्योगलाई ५० लाख रुपैयाँसम्म जरिवाना, अनुमति पत्र खारेज वा उद्योग बन्दसम्मको कारबाही प्रावधान रहेको भन्दै स्थानीय तहले “Environment Audit” माग गर्न सक्ने अधिकार प्रयोग गर्नुपर्ने बताए। उद्योगले स्वास्थ्य र वातावरणीय क्षति पुर्याएको प्रमाणित भए क्षतिपूर्ति, उपचार खर्च तथा जग्गा–घरको अवमूल्यनसमेत दाबी गर्न सकिने उनको भनाइ छ।
यस्तै, आवश्यक परे जिल्ला अदालत वा सर्वोच्च अदालतमा जनहित मुद्दा (PIL) दर्ता गरेर प्रदूषण नियन्त्रण युनिटको सुधार, स्वास्थ्य प्रभाव अध्ययन तथा धुलो–धुवाँ नियन्त्रणका लागि न्यायालयबाट आदेश गराउन सकिने सुझाव पनि उनले राखे। नेपालमा यसअघि धेरै ढुङ्गा–गिटी उद्योग PIL मार्फत नै बन्द गरिएका उदाहरण रहेको उनले स्मरण गराए।
अधिकारीले स्थानीय सरकार, उद्योग सञ्चालक तथा सर्वसाधारणले संयुक्त रूपमा वैज्ञानिक, कानुनी र सामुदायिक कदम चाल्न सकेमात्र दीर्घकालीन समाधान सम्भव हुने बताएका छन्।



























