मनहरी, माघ २७ गते । मनहरी गाउँपालिका वडा नम्बर २ स्थित भुन्द्रुङ्टाँडीमा रहेको श्री सीता माध्यमिक विद्यालयमा एचपिभी (HPV) खोप लगाउने तयारी अन्तिम चरणमा पुगेको छ। सहिद हिरा स्मृति आधारभूत स्वास्थ्य केन्द्रको आयोजनामा सम्पन्न छलफलबाट माघ २९ गते विद्यालयमै खोप कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिएको हो।
छलफलको निष्कर्षअनुसार यस वर्ष कक्षा ६ मा अध्ययनरत छात्राहरूलाई लक्षित गरी एचपिभी खोप सेवा उपलब्ध गराइनेछ। स्वास्थ्य केन्द्रका अनुसार यो अभियान यस वर्षदेखि नियमित रूपमा सञ्चालन गरिनेछ र हरेक वर्ष कक्षा ६ का छात्राहरूलाई खोप लगाइने योजना बनाइएको छ।
कार्यक्रमसम्बन्धी छलफलमा मनहरी–२ का वडा अध्यक्ष राजकुमार पाख्रीन, श्री सीता माविका प्रधानाध्यापक विशाल घलान, दिगो कृषि सहकारी संस्थाका अध्यक्ष चन्द्र सिं स्याङ्तान, सञ्चारकर्मी तथा मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका सचिव सूर्य बहादुर गोले लगायत स्वास्थ्य स्वयंसेविकाहरूको सहभागिता रहेको थियो।
९ देखि १४ वर्ष उमेर समूहका किशोरीहरूका लागि सिफारिस गरिने एचपिभी खोप पाठेघरको मुखको क्यान्सरको जोखिम कम गर्न प्रभावकारी मानिन्छ। Human Papilloma Virus को संक्रमणबाट जोगिन खोप महत्वपूर्ण उपाय भएको भन्दै अभियानलाई सफल बनाउन अभिभावक, विद्यालय र समुदायको सक्रिय भूमिका आवश्यक रहेको स्वास्थ्य स्वयंसेविकाहरूले बताएका छन्।















