हेटौँडा, माघ २९ गते । शिवम सिमेन्ट उद्योगका कारण बालबालिका तथा स्थानीय बासिन्दाको स्वास्थ्यमा नकारात्मक असर परेको भन्दै भोलिदेखि शान्तिपूर्ण आन्दोलन सुरु गरिने भएको छ। उद्योगले पटक–पटक गरिएका ध्यानाकर्षण र गुनासालाई बेवास्ता गर्दै आएको आरोपसहित आन्दोलनको घोषणा गरिएको हो।

अध्यक्ष तथा सामाजिक अभियन्ता विशाल राज महतले आफ्नो सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको सूचनाअनुसार, उद्योगबाट उत्पन्न धुलो, प्रदूषण र त्यसले पार्ने दीर्घकालीन स्वास्थ्य जोखिमप्रति सम्बन्धित निकाय र उद्योग स्वयं गम्भीर नबनेको भन्दै बाध्य भएर आन्दोलनको बाटो रोज्नुपरेको जनाइएको छ।
सूचनामा भोलिदेखि शिवम सिमेन्ट उद्योग प्राङ्गणमा बिहान ९ बजेदेखि ११ बजेसम्म शान्तिपूर्ण आन्दोलन गरिने उल्लेख छ। आन्दोलनमा प्रभावित वडाबासी, सचेत नागरिक, सामाजिक अभियन्ता तथा पत्रकारहरूलाई उपस्थित भई ऐक्यबद्धता जनाउन आग्रह गरिएको छ।
आन्दोलन पूर्ण रूपमा शान्तिपूर्ण हुने र स्थानीयको स्वास्थ्य तथा वातावरणीय अधिकार सुनिश्चित गरिनुपर्ने मुख्य माग रहेको अध्यक्ष महतले बताएका छन्।














