“दुई दिन बिदा र इन्धन मूल्य वृद्धिले विकासमा थप चुनौती” — वडाध्यक्ष सिग्देल

हेटौंडा, चैत २२ गते । पेट्रोलियम पदार्थको मूल्य वृद्धिसँगै हप्तामा दुई दिन (शनिबार र आइतबार) सार्वजनिक बिदा दिने निर्णयले स्थानीय तहको विकास निर्माण कार्यमा थप चुनौती सिर्जना गर्ने देखिएको छ।

हेटौंडा उपमहानगरपालिका–४ का वडाध्यक्ष तथा नेकपा एमाले केन्द्रीय लेखा आयोगका सदस्य नवीन सिग्देलले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो चिन्ता व्यक्त गरेका हुन्।

उनका अनुसार पेट्रोलियम पदार्थको मूल्य वृद्धिले ढुवानी तथा निर्माण सामग्रीको लागत बढाएको अवस्थामा दुई दिन बिदाको व्यवस्थाले काम गर्ने समय घटाउँदा विकास योजनाको कार्यान्वयन थप प्रभावित हुने जोखिम रहेको छ।

सिग्देलले पछिल्लो समय स्थानीय तहले विभिन्न चुनौतीहरू सामना गरिरहेको उल्लेख गरेका छन्। जे जि आन्दोलनका कारण नगरपालिका तथा वडा कार्यालयमा भएको क्षति, त्यसपछि भएको सरसफाइ तथा पुनः व्यवस्थापनको काम अझै पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन।

यसका साथै, विभिन्न चाडपर्व र निर्वाचनका कारण पनि विनियोजित विकास योजनाहरू समयमै कार्यान्वयन हुन नसकेको अवस्था रहेको उनले बताएका छन्। यस्ता चुनौतीहरूबीच थप दुई दिन बिदा हुँदा प्रशासनिक तथा विकास सम्बन्धी कामहरूमा गम्भीर असर पर्ने उनको भनाइ छ।

उनले स्थानीय तहको प्रभावकारी सेवा प्रवाह र विकास निर्माणलाई ध्यानमा राखेर यस्ता नीतिगत निर्णयहरू पुनर्विचार गर्न आवश्यक रहेको सुझाव समेत दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.