पदमपोखरी,जेठ १० गते। हेटौंडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरीमा आज उज्यालो नेपाल पार्टी को वडा इकाई कमिटी गठन सम्पन्न भएको छ। आज आयोजित खुला सत्रमार्फत रविन्द्र थिङलाई सर्वसम्मत रूपमा वडा इकाई कमिटीको अध्यक्ष चयन गरिएको हो। त्यसैगरी सचिवमा जीवन पाख्रिन चयन भएका छन् भने कोषाध्यक्ष पद हालका लागि रिक्त राखिएको जनाइएको छ। साथै अन्य २५ जना सदस्यहरूलाई वडा इकाई कमिटीमा मनोनयन गरिएको छ।

नवगठित वडा इकाई कमिटीका अध्यक्ष रविन्द्र थिङले आफूलाई अध्यक्षको जिम्मेवारी दिई योग्य ठहर गरेकोमा सम्पूर्ण सदस्य तथा स्थानीयवासीप्रति आभार व्यक्त गर्दै उज्यालो नेपाल पार्टीको विधि, विधान र नीति अनुसार समग्र काम गर्दै अघि बढ्ने बताएका छन्।
उनले असल र खराब पक्ष छुट्याएर अघि बढ्ने तथा गलत काम र गलत विचारको खुलेर प्रतिवाद गर्ने पार्टीको कार्यशैली रहने स्पष्ट पारे। स्थानीय जनताले उठाएका आवश्यकता, माग तथा समस्यालाई वडा तहदेखि जिल्ला, प्रदेश र केन्द्रसम्म समन्वय गरी प्रभावकारी ढंगले उठाउने आफ्नो मुख्य जिम्मेवारी रहने उनको भनाइ थियो।
“अब भाषण गरेर होइन, परिणाममुखी काम गरेर देखाउने हाम्रो अभियान हुनेछ,” अध्यक्ष थिङले भने, “यसअघिका दलहरूले जनतालाई भ्रममा राख्ने काम गरे, अब उज्यालो नेपाल पार्टीले व्यवहारिक परिवर्तन र परिणाम दिने काम गर्नेछ।”
उनले वडा स्तरमा आउने बजेटको पारदर्शी अनुगमन, कुन पार्टीले कहाँ कसरी काम गरिरहेको छ भन्ने विषयमा निगरानी राख्ने तथा शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि प्राथमिकतामा राखेर काम गरिने बताए। साथै स्थानीयस्तरका समस्या तथा संकटका विषयमा पार्टीको हटलाइन सेवामार्फत जनताले प्रत्यक्ष सम्पर्क गर्न सक्ने व्यवस्था गरिने जानकारी दिए।

कार्यक्रमका प्रमुख अतिथि तथा मकवानपुर जिल्ला अध्यक्ष ई. सुरेन्द्र लामाले वर्तमान राजनीतिक नेतृत्वप्रति जनतामा असन्तुष्टि बढ्दै गएको उल्लेख गर्दै भ्रष्टाचार, अनियमितता र परिवारवादविरुद्धको अभियान स्वरूप आफू राजनीतिमा सक्रिय भएको बताए।
उनले नेपालमा सुशासन स्थापना गर्ने उद्देश्यसहित युवा पुस्ताले थालेको आन्दोलनलाई स्मरण गर्दै त्यसक्रममा धेरै युवाहरूले ज्यान गुमाउनुपरेको घटनाले आफूलाई गम्भीर रूपमा प्रभावित बनाएको बताए।
“देश परिवर्तन गर्न पार्टी निकट रहेर नेतृत्व तहमा पुग्न जरुरी ठानेँ,” उनले भने, “उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले थालेको अभियानले मलाई आकर्षित गर्यो र त्यसपछि मैले यही पार्टीमार्फत देश परिवर्तनको यात्रामा आफूलाई समर्पित गरेको हुँ।”
उनले २०८२ पुस ६ गते आफूलाई मकवानपुर जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको स्मरण गर्दै संगठन विस्तार अभियानलाई जिल्लाभर तीव्र रूपमा अगाडि बढाएको बताए। गाउँ–गाउँ पुग्दा जनताले नयाँ शक्तिलाई साथ दिन तयार रहेको अनुभव सुनाउँदै उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँग गरिएको एकताको प्रयास अपेक्षित म्यान्डेटअनुसार अगाडि बढ्न नसक्दा भंग भएको पनि उल्लेख गरे।
लामाले गएको फागुन २१ गते सम्पन्न निर्वाचन आफ्नो राजनीतिक यात्राको पहिलो पाइला भए पनि अन्तिम नभएको स्पष्ट पार्दै जनतासँगको सम्बन्ध निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।
“आजको भेट केवल आजमा सीमित हुने छैन,” उनले भने, “जबसम्म उज्यालो नेपाल पार्टीमा रहनेछु, तबसम्म यही पार्टीमार्फत जनताको सेवा गर्दै अघि बढ्नेछु।”
उनले नवगठित वडा इकाई कमिटीले स्थानीय समस्या, परिस्थिति र जनअपेक्षा बुझेर प्रभावकारी कार्यदिशा लिने विश्वास व्यक्त गर्दै जिल्ला कमिटीको तर्फबाट आवश्यक सहयोग र साथ रहने प्रतिबद्धता जनाए।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित जिल्ला अध्यक्ष ई. सुरेन्द्र लामाले नवआगन्तुक सदस्यहरूलाई खादा ओढाएर शपथ ग्रहण गराएका थिए।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा केन्द्रीय सदस्य मेजरमान मोक्तान, विकास वाइबा, तेजराज पाण्डे, प्रेमबहादुर बमजन, विशेष अतिथि अलोन वाइबा, जिल्ला उपाध्यक्ष उत्तम गोम्जा, जिल्ला सचिव मिनराज तितुङ, जिल्ला सहसचिव जेबी डिमडुङ, अमिना घिसिङ, नगर अध्यक्ष रमेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
त्यसैगरी हेटौंडा उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष अगम रुम्बा, पार्टी सचिव छात्र प्रकाश अधिकारी लगायतका प्रतिनिधिहरूको पनि कार्यक्रममा सहभागिता रहेको थियो।

कार्यक्रमको सभाध्यक्षता नवनिर्वाचित वडा अध्यक्ष रविन्द्र थिङले गरेका थिए भने कार्यक्रम सञ्चालन वडा इकाई कमिटीका सचिव जीवन पाख्रिनले गरेका थिए। कार्यक्रम बिहान ११ बजेदेखि सुरु भएको जनाइएको छ।

आज सम्पन्न कार्यक्रममा अन्तिम धन्यवाद मन्तव्य राख्दै अध्यक्ष रविन्द्र थिङले पार्टीले दिएको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह गर्ने प्रतिबद्धता जनाउँदै कार्यक्रम समापन गरेका थिए।















