हेटौंडा,जेठ १० गते। नवीन सिग्देलले आफ्नो कार्यकालमा वडा नम्बर–४ मा निर्माण भएका तथा निर्माणाधीन विभिन्न विकास संरचनाबारे सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी सार्वजनिक गरेका छन्।

वडाध्यक्ष सिग्देलले “हाम्रै पालामा” भन्दै सार्वजनिक गरेको फोटोहरुमा वडा कार्यालयको समन्वय, पहलकदमी र सक्रियतामा निर्माण सम्पन्न भएका तथा निर्माणाधीन विभिन्न भौतिक संरचनाहरूको विवरण उल्लेख गरेका छन्।
उनले हेटौंडा–४ मा घरेलु उत्पादन विक्री तथा प्रदर्शनी भवन, श्रमिक माध्यमिक विद्यालयको २० कोठे भवन, हेटौंडा कवर्ड हल, कर्राको कवर्ड हल, आधारभूत स्वास्थ्य केन्द्र, योग भवन, वडा प्रहरी कार्यालय, किरियापुत्री भवन, सार्वजनिक शौचालय, भुटनदेवी माविको प्राविधिक भवनको दोस्रो तल्ला तथा जेष्ठ नागरिक विश्राम कक्षलगायतका संरचना निर्माण भएको बताएका छन्।

सिग्देलका अनुसार ती संरचनाहरू निर्माणमा संघीय सरकार, बाग्मती प्रदेश सरकार, हेटौंडा उपमहानगरपालिका, विभिन्न सामाजिक संस्था, खेलकुदकर्मी, धार्मिक संस्था तथा स्थानीय समुदायको सहकार्य रहेको छ।
उनले घरेलु उत्पादन विक्री तथा प्रदर्शनी भवन तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल को सोचअनुसार बाग्मती प्रदेश सरकारको बजेटबाट निर्माण भएको उल्लेख गरेका छन् भने श्रमिक माविको २० कोठे भवन संघीय सरकारको विशेष अनुदानबाट निर्माणाधीन रहेको बताएका छन्।

त्यसैगरी हेटौंडा कवर्ड हल निवर्तमान मेयर हरिबहादुर महतको सोच र खेलप्रेमीहरूको सक्रियतामा निर्माण भएको तथा कर्रास्थित कवर्ड हल नेपाल तेक्वान्दो जिल्ला कार्यसमितिको पहलमा निर्माण भइरहेको जानकारी उनले दिएका छन्।
वडाध्यक्ष सिग्देलले विकास कुनै एक पक्षको मात्रै नभई साझा प्रयासको परिणाम भएको उल्लेख गर्दै “विकास साझा हो, विकास जनताका लागि हो” भन्ने धारणा व्यक्त गरेका छन्।
उनले वडा कार्यालयको सीमित बजेटबाट मात्र यस्ता संरचना निर्माण सम्भव नभएको उल्लेख गर्दै विभिन्न निकाय, संघसंस्था तथा व्यक्तिहरूको सहयोग, समन्वय र सक्रियताले विकास सम्भव भएको बताएका छन्।
साथै हेटौंडा क्याम्पस, श्रमिक मावि, साहित्य संगम भवन, आधुनिक राष्ट्रिय मावि, पशुपति मन्दिर, मस्जिद, गुम्बा, चर्च, प्रणामी मन्दिर, चिल्ड्रेन पार्क, श्रमिक पार्क, श्रमिक खेल मैदान तथा हुप्राको ट्र्याक क्षेत्रमा समेत विभिन्न संरचना निर्माण गरिएको र त्यसबारे विस्तृत विवरण क्रमशः सार्वजनिक गरिने उनले बताएका छन्।


















