मनहरीमा डेङ्गु नियन्त्रण अभियान सञ्चालन, लामखुट्टेको बासस्थान नष्ट गर्न समुदायलाई आग्रह

मनहरी,जेठ २० गते। मनहरी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा डेङ्गु रोग सम्बन्धी अभिमुखीकरण तथा लामखुट्टेको बासस्थान खोजी गरी नष्ट गर्ने अभियान सञ्चालन गरिएको छ।

बुधबार मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित पुष्पलाल स्मृति आधारभूत स्वास्थ्य सेवा केन्द्रमा आयोजित कार्यक्रममा डेङ्गु रोगको संक्रमण, रोकथाम र नियन्त्रणका उपायबारे विस्तृत जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, शिक्षक, सञ्चारकर्मी तथा समुदायका विभिन्न सरोकारवालाहरूको सहभागिता रहेको थियो।

अभिमुखीकरणका क्रममा डेङ्गु रोग फैलाउने एडिस जातको लामखुट्टेको जीवनचक्र, संक्रमणका प्रमुख लक्षण तथा रोगबाट बच्ने उपायबारे जानकारी गराइएको थियो। साथै घर तथा समुदाय वरपर पानी जम्ने स्थानहरूको नियमित निरीक्षण गरी लामखुट्टेले फुल पार्ने र वृद्धि हुने वातावरण नष्ट गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

कार्यक्रममा पुष्पलाल स्मृति आधारभूत स्वास्थ्य सेवा केन्द्रकी इन्चार्ज निर्मला मुक्तान ब्लोनले सहजीकरण गर्दै डेङ्गु नियन्त्रणका लागि व्यक्तिगत सतर्कता र सामुदायिक सहभागिता दुवै अपरिहार्य रहेको बताइन्।

सहभागीहरूलाई घर, विद्यालय, कार्यालय तथा सार्वजनिक स्थल आसपास रहेका टायर, टिन, गमला, ड्रम, पानी ट्यांकी तथा अन्य भाँडाकुँडामा पानी जम्न नदिन विशेष ध्यान दिन आग्रह गरिएको थियो। वक्ताहरूले डेङ्गु रोगको जोखिम न्यूनीकरणका लागि समुदायस्तरमै सरसफाइ तथा जनचेतनामूलक अभियानलाई निरन्तर र प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए।

मनहरी गाउँपालिकाले वर्षायामसँगै डेङ्गु संक्रमणको जोखिम बढ्न सक्ने अवस्थालाई ध्यानमा राख्दै समुदायस्तरमा सचेतना अभिवृद्धि र लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियानलाई आगामी दिनमा समेत निरन्तरता दिने जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.