हेटौंडा, असोज ९ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विपद्पछिको पुनर्स्थापना, पुनरुत्थान तथा पुनर्निर्माणका लागि प्राथमिकता र कार्ययोजनाबारे प्रदेशस्तरीय विपद् व्यवस्थापन टोली तथा मन्त्रीहरूसँग छलफल गरेका छन्।
मुख्यमन्त्री थापा मगरले सामाजिक सञ्जालमार्फत प्रदेशस्तरीय विपद् व्यवस्थापन टोली र मन्त्रीहरूसँग विपद्पछिको पुनर्स्थापना, पुनरुत्थान तथा पुनर्निर्माणका प्राथमिकता र कार्ययोजनाबारे छलफल गरिएको जानकारी दिएका हुन्।
उनले विपद्पछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माणमा मात्र केन्द्रित नभई जोखिम न्यूनीकरण, सुरक्षित बस्ती, दिगो पूर्वाधार र उत्थानशील समुदाय निर्माणलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
विपद्बाट प्राप्त अनुभव र सिकाइलाई आगामी योजना निर्माणमा समेट्दै भविष्यमा हुनसक्ने जोखिम न्यूनीकरणतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ। सुरक्षित तथा दिगो पुनर्निर्माणमार्फत प्रदेशलाई विपद्को जोखिमबाट थप सुरक्षित बनाउने गरी प्रदेश सरकार अघि बढ्ने मुख्यमन्त्री थापा मगरले उल्लेख गरेका छन्।
उनका अनुसार विपद्पछिको पुनर्स्थापना र पुनर्निर्माणलाई तत्कालीन आवश्यकता पूरा गर्ने कार्यका रूपमा मात्र नभई दीर्घकालीन जोखिम न्यूनीकरण र समुदायको उत्थानशीलता विकास गर्ने अवसरका रूपमा अघि बढाउने लक्ष्य राखिएको छ।














